एमालेको ११औं महाधिवेशनले नेतृत्व परिवर्तन गर्दैन, ओलीको विकल्प पोखरेल हुन सक्नुहुन्नः खगराज अधिकारी (भिडिओसहित)


काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का नेता खगराज अधिकारीले पार्टीको ११औं महाधिवेशनले नेतृत्व परिवर्तन नगरेर केवल नेतृत्व निर्माण र नवीकृत हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले एमालेमा केपी ओलीको विकल्प इश्वर पोखरेल हुनै नसक्ने बताएका हुन् । नेता अधिकारीको अनुसार अधिकांश नेताहरुले ओलीको नेतृत्व चाहेका छन् ।

‘नेतृत्व निर्माण हुन्छ । नवीकृत हुन्छ । केपी ओलीको विकल्प कोही हुँदैन । केपी ओलीको राष्ट्रिय अन्तर्राष्ट्रिउ उचाइ छ । ईश्वर पोखरेलले घोषणा गरेको सुने मैले । सबैको चाहना, त्यहाँ आउने प्रतिनिधिहरु सबैको चाहना नेतृत्व नवीकृत हुने, केपी ओलीको नेतृत्वमा पार्टीलाई सवल सक्षम र सुदृढ बनाउने भन्ने नै देख्छु मैले,’– उनले भने ।

ओली नेपाली कम्युनिष्ट आन्दोलनको अग्रणी नेता रहेको उनको दाबी छ । ओलीले सर्वसम्मत रुपमा पोखरेललाई अध्यक्ष बनाउने सम्भावना नरहेको र पोखरेलले लक्ष्मण रेखा नै उल्लङ्घन गरिसकेको उनले बताए । बरु सर्वसम्मत भए ओलीको नाममा मात्रै हुन सक्ने उनको भनाइ छ । ओली र पोखरेलको बीचमा सहमति गराउने कुरामा आफूहरुले कोशिस गर्ने पनि उनले बताए । कार्यकर्ताको मनोभावना र दृष्टिकोण बुझेर उचित निर्णय हुने उनले बताए ।