काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री कर्णबहादुर थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र भजनमण्डली बनाएको टिप्पणी गरेका छन् । आज (सोमबार) इश्वर पोखरेल पक्षधर नेताहरुले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले पार्टीभित्र भजन मण्डली बनाएर त्यसैमा रमाइरहेको टिप्पणी गरेका हुन् । एमालेको विभिन्न बैठकहरुमा ओलीको प्रशंसामा कविता वाचन हुने गरेको पनि उनले खुलासा गरे । हुँदै नभएको कुरा उल्लेख गरेर प्रशंसा गरी लेखिएको कविता वाचन भएपछि ओलीले तीन/चार पटक शीर निहुँर्याएको उनले बताए ।
‘भजन मण्डली तयार पार्ने, अनि मिटिङमा केपी शर्मा ओलीको शिर निहुरने गरीकन प्रसंशामा कविता वाचन गर्ने, यतिधेरै शब्दावलीहरु त्यहाँ छन् कि उहाँको प्रशंसामा कविता वाचन हुँदा मैले हेरिराखेको थिएँ, तीन/चार पटक उहाँले शिर निहुर्याउनुभयो । लाज भयो नि त । आफ्नै अगाडि नभएको, नभएको चिज पनि प्रशंसा पनि त्यतिभयो भनेपछि शिर चार पटक निहुराएको देखेँ । उहाँले यस्तो गर्न हुँदैन, मलाई लाज हुन्छ भनेर चाहिँ भन्नुभयो,’– उनले भने ।
नेता थापाले ओली अध्यक्ष बनेर नेतृत्वमा पुगेपछि केन्द्रीय कमिटी बैठकमा भाषण गर्ने, जे मन लाग्छ, त्यही बोल्ने र उनले भनेको कुरामात्रै मार्क्सवाद र जनताको बहुदलीय जनवाद हुने, ओलीको बोली नै पार्टीको निर्णय हुने जस्तो प्रवृत्ति देखा परेको उनले बताए । ‘जब उहाँ (ओली) नेता बन्नुभयो । नेता बनेपछि केन्द्रीय कमिटीको बैठक भनेको उहाँ उभिने, भाषण गर्ने, जति मन लाग्छ, त्यति भाषण गर्ने, जे मन लाग्छ, त्यो भन्ने । उहाँले भनेको कुरा मार्क्सवाद, उहाँले भनेको कुरा जबज, उहाँले भनेको कुरा पार्टी, उहाँले भनेको कुरा निर्णय । जो जनताको बहुदलीय जनवाद र द्वन्द्ववादसँग कहीँ पनि मेल खाँदैन, मार्क्सवादसँग कहीँ पनि मेल खाँदैन । उहाँले हामीले जे स्थापित गर्यौं, तोड्दै जानुभयो । हामी चुप लागिरह्यौं । सुरुमै धेरै आलोचना पनि गर्नुभएन,’– उनले भने ।
उनले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा पनि जनताको बहुदलीय जनवादको मर्म, बुझाइ, भावना र व्याख्या विश्लेषण कहीँ पनि मेल नखाएको बताए । नेता थापाले ओलीले गरेको राम्रा कामहरुको आफूहरुले सम्मान गर्ने बताए । अब एमाले यसरी नचल्ने र आफूहरु तर्क, बहस, विमर्श गर्न चाहेको उनले बताए । एमालेभित्र अहिले सीमित मान्छेहरुको निर्णय चल्ने गरेको बताउँदै अब त्यसो नहुने बताए । १०औं राष्ट्रिय महाधिवेशनपछिको धेरै केन्द्रीय कमिटी बैठक भाषणबाट मात्रै टुङ्गिएको उनले बताए ।
नेता थापाले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनदेखि आजसम्म एउटा मात्रै स्थायी कमिटी बैठक बसेको बताए । सो बैठकमा आफूले लिखित रुपमा प्रस्ताव पेश गरेको उनले स्मरण गरे । साथै, तत्कालीन अवस्थामा ओलीलाई हजुरबुबा भनेकै कारणले दुर्गा प्रसाईँलाई पार्टीको केन्द्रीय सदस्य बनाइएको पनि उनले बताए । अहिले पार्टी मनपरेको भरमा क्रेन सिस्टमबाट माथि ल्याएर नेता बनाउने कुरामा तल्लीन रहेको उनले बताए । हिजो टिपेर ल्याएका मान्छेहरु मन्त्री बनेको र पार्टीको विभिन्न जिम्मेवारीमा पुगेका मान्छेहरु अहिले पार्टीमा नरहेको उनले बताए ।




प्रतिक्रिया