उपाध्यक्ष पाण्डेको ओलीलक्षित टिप्पणीः झापा आन्दोलनमा मान्छे काट्ने नीति अत्यन्त गलत थियो


काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले झापा आन्दोलनमा मान्छे काट्ने नीति अत्यन्त गलत भएको बताएका छन् । आज (सोमबार) इश्वर पोखरेल पक्षधर नेताहरुले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले उक्त नीति गलत भएकै कारण पार्टीले करेक्सन गरेर अगाडि बढेको बताएका हुन् ।

‘झापा आन्दोलनमा मान्छे काट्ने नीति अत्यन्त गलत थियो । पार्टी सञ्चालनको आन्तरिक विधि लोकतान्त्रिक भएकै कारणले त्यस्ता विचारहरु पार्टी आफैंैले करेक्सन गर्यो । पछि हामीलाई लाग्यो– त्यो गलत नीति थियो,’– उनले भने ।

एमालेको नेतृत्वमा केपी शर्मा ओली आइसकेपछि गम्भीर पार्टीभित्र गम्भीर प्रकृतिका समस्या र विचलन देखा परेको उनको भनाइ छ । नेतृत्वको र पार्टीको लोकतान्त्रिकरण गर्नेबारे ८औं महाधिवेशनमा पारित गरिएको विधानलाई ओलीले मिचेको उनले बताए । ओलीले अहिले ‘गाउँ फर्क शैली’ अपनाएको टिप्पणी गरे । ओलीले नेताले चिनेको मान्छेलाई सबैले भोट हाल्नुपर्छ भनेर लोकतान्त्रिक विधिको खिलाफमा कदम चालेको उनले बताए ।

ओलीको कारण एमाले जनताको बीचमा साँधुरिने, खुम्चिने र आइसोलेशनमा जाने अवस्था रहेको उनले बताए । ओलीको कारण पार्टीभित्र लोकतान्त्रिकरण नभएको र युवाहरुले पनि एमालेलाई चासोका साथ नहेरेको उनले बताए ।