जेन-जी आन्दोलन विदेशीहरुले गराए भन्ने ओलीको आरोप साँचो होइनः एमाले उपाध्यक्ष ज्ञवाली


काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले ‘जेन–जी आन्दोलन विदेशीहरुले गराए’ भन्ने केपी ओलीको आरोपमा सत्यता नरहेको बताएका छन् । आज (सोमबार) इश्वर पोखरेल पक्षधर नेताहरुले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले जेन–जी आन्दोलन हुनुको कारण नै नखोजी ओलीले विदेशीहरुको इसारामा भयो भनेर आरोप लगाएको टिप्पणी गरे ।

‘बिना कारण कुनै घटना घट्दैन । राम्रो कुराको पनि कारण हुन्छ, नराम्रो कुराको पनि कारण हुन्छ । तर, हाम्रो नेतृत्व (ओली) ले कारण खोज्नेतिर लागेन । विदेशीहरुले गर्यो भनेर भन्ने एक किसिमको मान्यता भयो । तर, वास्तवमा त्यो साँचो कुरा होइन,’– उनले भने ।

उपाध्यक्ष ज्ञवालीले मेचीदेखि महाकालीसम्म एकैचोटी लाखौंलाख मान्छे आगो लगाउन उत्रिनुमा नेताहरुको गल्ती कमजोरी कारक तत्व रहेको बताए । उनले कमीकमजोरीलाई स्वीकार गरेर अगाडि बढ्नुपर्नेमा ओलीले कहिल्यै पनि त्यसो गर्ने नगरेको बताए ।

‘यसको पछाडि हाम्रा कमजोरी छन् भन्ने कुरा अवश्य पनि हो । मेरो मान्यता के हो भने पार्टी राम्रो भयो भने देश राम्रो बन्छ । पार्टीका नेता र कार्यकर्ताहरु इमानदार हुनुपर्छ, अध्ययनशील, अनुसाशित हुनुपर्छ । पार्टी भनेको सिंगो देशलाई प्रशिक्षित गर्ने हो । त्यस्तो पार्टी बनाउने हो, जसबाट जनताले शिक्षा लिनुपर्छ । हाम्रो जस्तो पार्टीले पार्टीमात्रै बनाउने होइन, देश बनाउने हो, समाज बनाउने हो । समाज बदल्नेहरु पहिला आफू बदलिनुपर्छ,’– उनले भने ।