नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह


काठमाडौं, २२ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा परेको बताएका छन् । ग्रेलिष्टबाट नेपाललाई बाहिर निकाल्न नसके ब्ल्याक लिष्टमा पर्ने उनले बताए ।

पर्सा जिल्लाको डकैला बहुअरी बाजारमा आज (सोमबार) आजपा पर्सा क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भएको बताए ।

‘नेपालजस्तो सानो मुलुकमा नेताहरुको लुट, भ्रष्टाचार तथा ऋण आतंकले नेपाल ग्रेलिष्टमा परेको छ । नेपालको बार्षिक बजेट १९ खर्ब तर बैदेशिक ऋण २८ खर्ब पुगेको छ । हरेक नेपाली जन्मिदै एक लाख ऋणको भारी टाउँकोमा बोकेर जन्मिनुपर्ने अवस्था छ । ग्रेलिष्टबाट दुई बर्षभित्रमा बाहिर निकाल्नुपर्ने बाध्यता छ तर १० महिना बित्दा समेत कुनै प्रगति छैन् । सरकार यस बारेमा गम्भिर रहेको देखिदैन । ग्रेलिष्टबाट बाहिर नेपाललाई निकाल्न नसकिए भोली नेपालको अवस्था झनझन कमजोर बन्ने निश्चित छ,’ अध्यक्ष साहले भने ।

नेपालजस्तो सौन्दर्यपूर्ण, प्रकृतिकले धनी, जल, जंगल, जमिन राम्रो भएको मुलुकको अर्थ अवस्था बलियो र शक्तिशाली हुनुपर्ने बताउदै नेताहरुको लुट, भ्रष्टाचारले मुलुकको अर्थतन्त्र ध्वस्त हुँदै गएको उनको टिप्पणी छ । नेपाललाई विश्वकै धनी र शक्तिशाली मुलुक बनाउन सकिने गरी प्रकृतिले बरदान दिएको भए पनि नेताहरुले त्यसलाई लुटेर आफ्नो निजी सम्पत्ति बनाएको साहले बताए ।

‘ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भएको छ । सरकारपिच्छेको कर आतंकले उधोग, व्यापारव्यवसाय चौपट भएको छ । नेपाल विश्वमै एक शक्तिशाली र बलियो अर्थतन्त्र हुने गरी प्रकृतिले बरदान नै दिएको छ हामीलाई । तर नेताहरुले त्यसलाई लुटेर आफ्नो निजी सम्पती बनाएका छन,’ अध्यक्ष साहले भने, ‘नेपालको नदीनाला, खोला बेचेका छन, जल, जंगल, जमिन बेचेका छन । त्यसलाई नेपाल र नेपालीको हित हुने गरी, अर्थव्यवस्था बलियो बनाउने गरी प्रयोग नगरी निजी सम्पत्ति जस्तै ठानेर मुलुक लुटेर नेताहरुले अर्थतन्त्र ध्वस्त बनाए । आम जनता जाग्ने, उठने र यस्ता भ्रष्टहरुलाई लखेटने बेला आएको छ ।’