काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाश रसाईली ‘स्नेही’ ले पार्टी सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण गर्नेलाई राज्यले कारबाही नगरेको खण्डमा पार्टीले एक्सन लिने चेतावनी दिएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै रसाईलीले देउवामाथि सांघातिक आक्रमण गर्नेलाई राज्यले कारबाही नगरेको खण्डमा नयाँ सरकार बनेपछि एक्सन लिइने बताए । नयाँ बन्ने सरकारले पनि कारबाही गरेन भने मात्रै नेविसंघ, तरुणदललगायत कांग्रेसका भातृ संगठनमाथि प्रश्न उठाउन उनले आग्रह गरे । उनले चेतावनीको शैलीमा ‘त्यतिबेला भेट हुने’ बताए ।
‘शेरबहादुर देउवालाई सांघातिक आक्रमण गर्ने मान्छेलाई राज्यले कारबाही गरेन भने हामी प्रश्न गर्छौं । उहाँ ७ पटक चुनाव जितेको एमपी । संसद्बाट ५ पटक अनुमोदित भएको प्रधानमन्त्री । जनताबाट निर्वाचित हो नि । उहाँले कमजोरी गर्नुभएको छ भने विधि बनाऔं, सजाय दिउँ । तर, सांघातिक आक्रमण गर्ने भनेको कानून हातमा लिएर गर्ने कुरा हो । राज्यले कारबाही गरेन भने नयाँ सरकार आउँछ । त्यो सरकारले पनि कारबाही गरेन भने तपाईँहरु कायर हुनुहुन्छ कि ? तपाईँको नेविसंघ कायर छ कि ? तरुणदल कायर रहेछ कि बहादुर रहेछ भन्ने तपाईँले प्रश्न गर्नुस् । यहीँ भेटौंला,’– उनले भने ।
साथै, उनले पार्टी सभापति शेरबहादुर देउवाकै अनुहार लिएर अगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा जान नसकिने बताए । उनले निर्वाचन अगाडि नै पार्टीको १५औं महाधिवेशन हुने दाबी गरे । उनले भने, ‘देउवाकै अनुहार लिएर चुनावमा जाँदैनौं । निर्वाचन अगाडि महाधिवेशन गरेर जान्छौं ।’
साथै, आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस र एमाले बीच गठबन्धन र कुनै प्रकारको तालमेलसमेत नहुने बताए । ‘कांग्रेस–एमालेको गठबन्धन हुने सम्भावना नै छैन । तालमेल पनि हुँदैन,’– उनले भने ।




प्रतिक्रिया