‘सदाचारी छु’ भन्ने गर्वसहित कार्यसम्पादन गर्न मुख्यसचिव अर्यालको निर्देशन


काठमाडौं, २२ मंसिर । मुख्यसचिव सुमनराज अर्यालले राष्ट्रिय सतर्कता केन्द्र सुशासनको महत्त्वपूर्ण औजर बन्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको निरीक्षणका क्रममा मुख्यसचिव अर्यालले उक्त कुरामा जोड दिएका हुन् ।

मुख्यसचिव अर्यालले ‘सदाचारी छु’ भन्ने गर्वसहित कार्यसम्पादन गर्न निर्देशन दिएको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए।

मुख्यसचिव अर्यालको भनाइ उदृत गर्दै प्रवक्ता भट्टले भने, ‘आफू भ्रष्टाचार, अनियमितता तथा ढिलासुस्तीको अन्त्य गरी सुशासन कायम गर्न दृढ रहेको र समग्र शासकीय क्षेत्रको सुद्धीकरण एवं सुदृढीकरण आफ्नो अर्जुनदृष्टि रहेकोले सो कार्यका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई सुशासनको महत्त्वपूर्ण औजरको रूपमा लिएकोु मुख्यसचिवको धारणा रहेको छ।

भट्टका अनुसार मुख्यसचिव अर्यालले केन्द्रको कार्यसम्पादनलाई प्रभावकारी बनाउन आफू त तत्पर रहेकाले केन्द्रका समस्याहरू समाधान गरी कार्य वातावरण सुधार गर्न आफूले कुनै कसर बाँकी नराख्ने धारणा राखेका थिए। राष्ट्रिय सतर्कता केन्द्रले पनि आफ्नो गतिविधि सशक्त रुपमा अघि बढाउन मुख्यसचिव अर्यालले निर्देशन दिएका छन्।

सतर्कता केन्द्रलाई सक्रिय बनाउन प्रधानमन्त्री सुशीला कार्कीसँग पनि छलफल गर्ने मुख्यसचिव अर्यालको भनाइ उदृत गर्दै प्रवक्ता भट्टले बताए।

मुख्यसचिव अर्यालले कर्मचारीलाई उत्प्रेरित गर्दै हरेक कर्मचारीमा ुम सदाचारी छु र सदाचारी रहिरहने छुु, भन्ने भावना हुनुपर्नेमा जोड दिएका थिए। साथै कानुनको सीमाभित्र रही सक्रियतापूर्वक कार्यसम्पादन गर्नुपर्ने र हरेक निकायमा आफ्नै प्रकृतिका जटिल मुख्य समस्याहरू रहेकोले ती समस्यालाई समाधान गर्नुपर्नेमा मुख्यसचिवले विशेष जोड दिएको प्रवक्ता भट्टले जानकारी दिए।

निरीक्षणका क्रममा मुख्यसचिव अर्यालले सतर्कता (भिजिलेन्स) को मर्म धेरै गहन भएकोले सतर्कता केन्द्रले सो मर्म अनुसार काम गरी समग्र शासकीय व्यवस्थामा चुस्तता ल्याउनुपर्ने धारणा राखेका थिए। हरेक निकायमा कुनै पनि कामका लागि राष्ट्रिय सतर्कता केन्द्रले आफ्नो भूमिका सशक्त बनाउनु पर्ने मुख्यसचिव अर्यालको भनाइ छ।

मुख्यसचिव अर्यालले निरीक्षकका क्रममा केन्द्रको कामकारबाही र गतिविधिको विषयमा जानकारी लिएको प्रवक्ता भट्टले बताए। केन्द्रमा कर्मचारीसँग अन्तरक्रियाका क्रममा मुख्यसचिव अर्यालले कर्मचारीलाई सदाचारिताको भावनासहित कानुनको सीमाभित्र रही सक्रियतापूर्वक कार्यसम्पादन गर्न र कार्यसम्पादन प्रणालीलाई चुस्त बनाउन जोड दिएका हुन्।

केन्द्रका सचिव सरजुकुमार वैद्यले मुख्यसचिव अर्याललाई केन्द्रको काम, कर्तव्य, अधिकार र हाल सम्पादन भइरहेको काम कारबाहीका सम्बन्धनमा विस्तृत जानकारी गराएका छन्। केन्द्रले भोगिरहेका समस्याबका विषयमा समेत सचिव वैद्यले मुख्यसचिव अर्याललाई अवगत गराए। केन्द्रमा दरबन्दी अनुसार कर्मचारी अभाव रहेको, केन्द्रको आफ्नै भवन नरहेको, न्यून बजेट र कर्मचारीमा उत्प्रेरणाको कमीलगायतका समस्याहरू रहेको सचिव वैद्यले मुख्यसचिव अर्याललाई सुनाएका थिए। मुख्यसचिव अर्यालले केन्द्रलाई भ्रष्टाचार नियन्त्रण र सुशासनको औजारका रूपमा आफूले लिएको बताए।

मुख्यसचिव अर्यालले केन्द्रलाई सक्रिय बनाउने संकेत गरेका छन्। भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाउन प्रधानमन्त्री कार्की अग्रसर भइरहेका बेला मुख्यसचिव अर्याल समेत सतर्कता केन्द्रको निरीक्षणमा पुगेका हुन्। यसले केन्द्रको भूमिका बढ्ने र काम कारबाहीले तीव्रता पाउने देखिन्छ।