जेलभित्र धेरै निर्दोष मान्छेहरु छन्, उनीहरुलाई रिहा गरिनुपर्छः उपसभामुख राना


काठमाडौं, २२ मंसिर । विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले जेलभित्रका धेरै मान्छेहरु निर्दोष रहेको दाबी गरेकी छन् । उनीहरुलाई रिहाइ गरिनुपर्ने उपसभामुख रानाको भनाइ छ । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वास्तविक अपराधीहरु समुदायमा लुकेर बसिरहेको बताईन् । अपराध पुष्टि गर्न सकिँदैन भने जेलभित्र अनिर्णयको बन्दी बनाएर मान्छेलाई थुन्न नहुने उनको बुझाइ रहेको छ ।

‘जेलमा धेरै मान्छे निर्दोष छन् । निर्दोषलाई त रिहा त गर्नुपर्छ । रियल क्रिमिनल सोसाइटीमा लुकेर बसेका छन् । त्यसलाई थुन्न पर्यो, भ्रष्टाचारीहरुलाई थुन्न पर्यो । कैदीबन्दीहरुलाई न्याय दिनुपर्यो । अपराध गरेको छ भने अपराधी भनेर घोषित गर्दिनुपर्यो । अपराधी छैनन् भने किन ल्याङल्याङ गरिराख्ने ?’ प्रश्न गर्दै उनले भनिन् ।

साथै, उनले जेलमा पर्ने मान्छे सबैलाई अपराधीको दृष्टिकोणमा हेर्न नहुने बताए । एक पिस ब्रेडको चोरेको आरोपमा जेल परेको व्यक्तिलाई पनि अपराधीको दृष्टिकोणमा हेरिन नहुने उनले बताईन् । आफूले यस क्षेत्रमा विगत ३५ वर्षदेखि काम गरिरहेको स्मरण गराउँदै उनले सुटेडबुटेडबाट नै ठूला–ठूला अपराध हुने गरेको बताईन् ।

‘जेलमा पर्ने मान्छे सबै अपराधी हुन् ? ३५ वर्षसम्म मैले देखेको यो समाज जो सुटेडबुटेडभित्र अपराध हुन्छ । एक पिस ब्रेडको लागि भित्र पर्ने मान्छे पूरै अपराधी हुन् त ? म त त्यसरी हेर्दिनँ,’– उनले भनिन् ।

साथै, आममाफीमा हिंश्रक अपराधीलाई छुटाउने र पाउनुपर्नेले आममाफी नपाएर रगतको आँसु चुहाएर बसिराखेको उनको भनाइ छ । जेल सुधार आफ्नो पुरानै एजेण्डा रहेको उनको भनाइ छ । अपाङ्गता भएका व्यक्तिहरुलाई जेलमा उचित सुविधा दिएर राख्नुपर्ने उनको माग छ ।