कांग्रेस-एमाले नास हुन अझै बाँकी छ, त्यही भएर संसद् पुनर्स्थापनाको मुद्दा लिएर अदालत गइरहेका छन्ः अमरेश सिंह (भिडिओसहित)


काठमाडौं, २३ मंसिर । निवर्तमान प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले कांग्रेस–एमालेको नास हुन अझै बाँकी नै रहेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अझै नास हुनका लागि कांग्रेस–एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा लिएर सर्वोच्च अदालत गएको टिप्पणी गरेका हुन् ।

संसद् पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस–एमाले न्यायलयमा जाँदैगर्दा अर्को जेन–जी विद्रोह निम्तिन सक्ने खतरा रहेको पनि उनले बताए । नेता डा.सिंहले भने, ‘कांग्रेस–एमाले अझै नास हुन बाँकी नै छ । नास हुनका लागि अदालत गइरहेका छन् । त्यसले दोस्रो चरणको जेन–जी विद्रोह निम्त्याउँदैछ ।’

नेता सिंहले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सरकार, राजनीतिक दल र निर्वाचन आयोग कसैले पनि नचाहेको दाबी गरे । आयोगको अहिलेको नेतृत्वले निर्वाचन गराउनै नसक्ने उनको दाबी छ । राजनीतिमा नै नआएका दलहरुले निर्वाचन चाहे पनि राजनीतिमा सक्रिय रहेका दलहरुले निर्वाचन नचाहेको उनको भनाइ छ ।

‘जहाँसम्म फागुन २१ गतेको निर्वाचन छ, त्यो न सरकारले चाहेको छ, न निर्वाचन आयोगले चाहेको छ, न राजनीतिक दलले चाहेको छ ? निर्वाचन आयोगको अहिलेको नेतृत्वले निर्वाचन गराउन सक्दैन । यो मितिमा निर्वाचन हुँदैन । निर्वाचनमा जान जो राजनीतिमा आएको छैन त्यो तयार छ । जो राजनीतिमा आएको छ, त्यो तयार छैन,’– उनले भने ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि दलहरुले सहमति गरेर निर्वाचनको मिति २ महिना पर सर्दिउन् भन्ने चाहेको उनले बताए । चुनावको मिति सारेको अपजस यो सरकारले लिन नचाहेको उनको भनाइ छ । सोही कारणले अहिलेका मन्त्रीहरु सबैले फागुन २१ गते निर्वाचन हुन्छ भनेर एउटै शब्द रटान लगाइरहेको उनले बताए ।

‘सुशीला कार्कीले दलहरुले सहमती गरेर आओस्, चुनाव दुई महिना सार्दिउँ भन्ने चाहनुहुन्छ । फागुनको चुनाव वैशाखमा गर्दिउँ । त्यसकारणले चुनावको मिति सर्ने आपजस यो सरकारले लिन चाहँदैन । सरकारका मन्त्रीहरु एउटै कुरा भनिरहेका छन्– फागुन २१ गते चुनाव हुन्छ,’– उनले भने ।

फागुन २१ गते चुनाव नहुँदै गर्दा पनि देशमा कुनै प्रकारको संकट नआउने उनको भनाइ छ । फागुन २१ गतेको निर्वाचन जेन–जीहरुको चाहनामा भन्दा पनि राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको विज्ञप्तिको आधारमा हुन लागेको उनले बताए ।