डिल्लीबजार मालपोतका सुब्बा गुरागाईँः अख्तियार, सम्पत्ति शुद्धीकरणदेखि न्यायाधीशसमेतलाई घुस बाँड्ने गरेको आरोप


काठमाडौं, २३ मंसिर । निवर्तमान प्रतिनिधिसभा सदस्य डा.अमरेश कुमार सिंहले डिल्लीबजार मालपोतका गुरागाईँ थर गरेका एक जना नायब सुब्बाले अख्तियार, सम्पत्ति शुद्धीकरणदेखि न्यायाधीशसमेतलाई घुस बाँड्ने गरेको आरोप लगाएका छन् । नेता डा.सिंहका अनुसार ती गुरागाईँ थरका नायब सुब्बा १८ वर्षदेखि डिल्लीबजार मालपोतमा डेरा जमाएर बसेका छन् । आजसम्म उनलाई त्यहाँबाट कसैले सरुवा गर्न नसकेको पनि नेता सिंहले बताए ।

नेता सिंहका अनुसार ती गुरागाईँ थरका नायब सुब्बाले मन्त्री फेर्नेसम्मकको हैसियत राख्छन् । उनले भने, ‘डिल्ली बजार मालपोतको एउटा सुब्बा छ । त्यसले एउटा पास गर्नका लागि दुई करोड रुपैयाँ मागेको छ । सबै नियम कानून मिलेको छ र पनि । ऊ १८ वर्षदेखि त्यही छ । त्यो मान्छेले धम्क्याउँछ मलाई कसैले सरुवा गर्न सक्दैन । बरु म मन्त्री फेर्दिन सक्छु,’– उनले भने, ‘गुरागाईँ थरको मालपोतमा नासु छ । ऊ भन्छ म अख्यियारलाई पनि, सम्पत्ति शुद्धीकरणलाई पनि न्यायाधीशलाई पनि पैसा पुर्याउँछु । मलाई कसले हटाउँछ ? यस्तो देशमा विकास हुन्छ ? यस्तो देशमा कहीँ विकास हुन्छ ।’