गौरीबहादुर कार्कीको ठाउँमा म भएको भए ओलीलाई प्रहरी लगाएर समातेर ल्याउँथेँः अमरेश सिंह (भिडिओसहित)


काठमाडौं, २३ मंसिर । निवर्तमान प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगले केपी ओलीलाई प्रहरी लगाएर ल्याएर भए पनि बयान लिनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली कानूनभन्दामाथि हुन नसक्ने बताएका हुन् । उनले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको ठाउँमा आफू भएको भए ओलीलाई प्रहरी लगाएर बयानका लागि ल्याउने बताए ।

‘म सरकारको ठाउँमा भएको भए जुनदिन यिनीहरु आर्मी ब्यारेकमा थिए नि, त्यहाँबाट सिधा पुलिसको थुनुवा कोठामा लग्थेँ । घर जान दिँदैन थिए । बयान नदिने ? कानूनभन्दा माथि ? म गौरीबहादुर कार्कीको ठाउँमा भएको भए त पुलिस लगाएर समातेर ल्याउँथेँ । कुन ठूलो कुरा हो र ? २ सय गुण्डा राखेको छ त, ५ सय पुलिस परिचालन गर्ने,’– उनले भने ।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा ओली प्रधानमन्त्री थिए । उक्त घटना छानविनका लागि बनेको जाँचबुझ आयोगले ओलीको बयान लिने बताउँदै आएको छ । ओलीलाई आयोगले काठमाडौं उपत्यका छाड्न नपाउनेगरी स्थान हदसमेत तोकेको छ । तर, ओलीले भने आफूू आयोगमा बयान दिनका लागि नजाने अभिव्यक्ति दिँदै आएका छन् ।

साथै, संसद् पुनर्स्थापना भएको खण्डमा न्यायपालिकालाई ठूलो क्षति हुने उनको दाबी छ । क्षति ब्यहोर्नेगरी आजको न्यायपालिकाले संसद् पुनर्स्थापना गर्छ भन्ने आफूलाई नलागेको उनले बताए ।