पार्टीको ११औं महाधिवेशनमा ओली अध्यक्षमा उठेर जिते पनि राम्रो हुँदैनः एमाले नेता दाहाल (भिडिओसहित)


काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का नेता कृष्ण दाहालले पार्टीको ११औं महाधिवेशनका केपी शर्मा ओली अध्यक्षमा उठेर जिते पनि राम्रो नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब ओलीले जित हारको विषयमा प्रवेश नै गर्न नहुने बताए । ओली अब अध्यक्षको लागि प्रपिस्पर्धामा नजाँदा नै राम्रो हुने बताए ।

‘उहाँ (ओली) अहिले चुनावमा उठेर जिते पनि त्यो चाहिँ राम्रो हुँदैन । जित हारको विषयमा अब केपी ओली प्रवेश गर्न हुँदैन । अब प्रतिस्पर्धामा नजानु राम्रो हो,’– उनले भने ।

एमालेभित्रको २ कार्यकाल र ७० वर्षे उमेरहद ओलीकै प्रस्ताव रहेको उनले बताए । आफैंले अगाडि सारेको प्रस्ताव आफ्नो मामलामा लागू हुने कि नहुने भन्नै नैतिक संकटमा ओली रहेको उनले बताए ।

उनले विगतमा पार्टीभित्र एउटैले अठ्याइरहने, छोड्दै नछोड्ने प्रवृत्ति देखा परेको कारण दुई वर्षे कार्यकालको प्रावधान ल्याइएको बताए । मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याउनुको कारण व्यक्ति प्रधान नभएर विधि प्रधान होउ भन्ने उद्देश्य रहेको उनले बताए । भण्डारीले कम्युनिष्टहरु प्रगतिशील हुन्छन् भन्ने प्रमाणित गर्न र लोकतान्त्रिक नीति र प्रणालीको विकास गर्नुपर्छ भन्ने उद्देश्यका साथ जवज ल्याएको उनले बताए । लोकतान्त्रिक प्रणाली विकास गर्नका लागि भण्डारीको योगदान रहेको उनले बताए ।

पार्टीलाई विधिसँगत ढंगले चल्न दिने हो भने नेतृत्वलाई फूल्न र फल्न दिनुपर्ने उनले बताए । एउटैले ओगटेर बस्न नहुने उनले बताए । नेता दाहालले ओली र पोखरेलबीच सहमती भएर मिलेर आएको खण्डमा भने आफूहरुलाई कुनै आपत्ति नरहेको र मत विभाजनको अवस्था नै आएको खण्डमा आफूले पोखरेललाई साथ दिने बताए ।