काठमाडौं महानगर ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरुले गुहारे गृहमन्त्री


काठमाडौं, २४ मंसिर । कवाड व्यवसायी समाज, नेपालका अध्यक्ष राम केवल गुप्ता, व्यवसायी ओम प्रकाश सिंहलगायतको टोलीले गृह मन्त्री ओमप्रकाश अर्याललाई भेटेर काठमाडौं महानगरपालिकाले विगत २ वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि ज्यादती गरेको भन्दै ध्यानाकर्षण गराएका छन् । भेटमा गृह मन्त्री अर्यालले कवाड व्यवसायी र कवाड सङकलक मजदुरमाथि गरिरहेको ज्यादती रोक्न आफू प्रतिदद्ध रहेको बताएका छन् ।

कवाड व्यवसायीहरुले गृहमन्त्री अर्याललाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाद्वारा विगत दुई वर्षदेखि कवाड व्यवसायी, संकलक मजदुर तथा आम गरीब वर्गमाथि अन्यायपूर्ण कार्य, शारीरिक कुटपिट, संरचना भत्काउने, सामान जफत गर्ने, अपहरण गर्ने, र मानसिक त्रास सिर्जना गर्ने कार्यहरू निरन्तर रूपमा भइरहेको कुरा यहाँलाई अवगत गराउन चाहन्छौं ।’

महानगर प्रहरीद्वारा गरिएको कुटपिटका कारण सङ्कलक र मजदुरहरूको टाउको फुट्ने, अङ्गभङ्ग हुने, गम्भीर चोटपटक लाग्ने घटनाहरू बारम्बार घटिरहेको र यस्ता गतिविधिहरूले संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने मौलिक हक अधिकारमाथि हनन भएको उनीहरुले बताएका छन् । उनीहरुले गृहमन्त्रीसमक्ष विभिन्न्न ५ बुँदे मागसमेत पेश गरेका छन् ।

यस्ता छन्, कवाड व्यवसायी तथा संकलकहरुको मागः

१.संविधानले दिएको पेशा व्यवसाय गर्ने अधिकारको पूर्ण ग्यारेन्टी गर्नुपर्ने ।
२.कवाड व्यवसायी, संकलक र मजदुरमाथि भइरहेको कुटपिट, अपहरण, ज्यादती, संरचना भत्काउने जस्ता कार्यहरू तत्काल रोक्नुपर्ने ।
३.यस ज्यादतीमा संलग्न काठमाडौं महानगर प्रहरी र जिम्मेवार व्यक्तिहरूलाई कानुनी कारबाही गर्नुपर्ने ।
४.कवाड व्यवसायी, संकलक र मजदुरको जिउधनको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले तत्काल कदम चाल्नुपर्ने ।
५.स्थानीय कर संकलनको नाममा काठमाडौं उपत्यका वाट संकलन गरिएका कवाडी समान नवलपरासी, विरगंज, रुपन्देही लगायतका ठाउँमा अवस्थित उद्योगहरुमा पठाउदा राजमार्गमा पर्ने सम्पुर्ण स्थानीय तहहरुले अनावश्यक ढंगले कर अशुल गरिरहेको हुनाले यो अनावश्यक कर असुली धन्दा बन्द गराउन विनम्र अनुरोध गर्दछौं ।