काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औं महाधिवेशनमा अध्यक्षका लागि केपी ओली पछि हटेर अर्को कोही व्यक्तिलाई अगाडि सारेको खण्डमा सहमती हुन सक्ने बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीले अभिभावकीय भूमिका खेलेर संरक्षक भएर बस्ने अवस्थामा तेस्रो व्यक्तिमा सहमती खोज्न सकिने बताएका हुन् ।
‘सहमति हुनसक्छ । तर अहिलेको सन्दर्भमा हामीले भनेका छौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने । .उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ,’– वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।
त्यो भन्दा अरु हिसाबले नेतृत्वको बारेमा सहमति हुन नसक्ने उनको भनाइ छ । एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनमा अध्यक्षका लागि ओली र पोखरेलबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।




प्रतिक्रिया