काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको प्रधानमन्त्री भएको बेला घटेको घटनाको नैतिक जिम्मेवारी नलिएर सुख नपाइने बताएका हुन् । उनले २०४६ सालको आन्दोलनको मरिचमानमाथि नैतिक जिम्मेवारी गएको, २०६३/०६३ मा घटेको घटनाको नैतिक जिम्मेवारी तत्कालीन राजा ज्ञानेन्द्रमाथि गएको उनले स्मरण गराए ।
‘त्यो पोजिसनमा बस्ने मान्छेले नैतिक जिम्मेवारी लिनुपर्छ । सरकारको प्रधानमन्त्री हुने, अनि त्यो दिन घटना घट्ने, मलाई थाहा छैन भन्दाखेरीमा त्यसले कुनै जिम्मेवारी बोध भएको जस्तो बुझिँदैन । २०४६ सालमा आन्दोलन भयो । त्यो आन्दोलनमा मरिचमानले नै गोली हान्न त भनेका थिएनन् होला । मरिचमानलाई कारबाही पनि भएन । तर नैतिक जिम्मेवारी मरिचमानलाई जान्छ कि जाँदैन ? २०६३/०६३ मा स्वयं ज्ञानेन्द्रमाथि गयो कि गएन ? त्यस बेलाको नैतिक जिम्मेवारी लिनु पर्दैन ?’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले माधव नेपालले २०६४ को चुनाव हारेपछि पार्टीको जिम्मेवारीबाट राजीनामा गरेको समेत ओलीलाई स्मरण गराए । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ७६ जनाभन्दा बढीको मृत्यु भएको थियो । सो क्रममा अदालत, सिंहदरबार, नेताहरुको घर र सार्वजनिक सम्पत्तिमा समेत आगजनी भएको थियो ।




प्रतिक्रिया