‘रेस’ मा नै नआउनुभएको विद्या भण्डारीसँग केपी ओली तर्सिराख्नुभएको छः एमाले उपाध्यक्ष पाण्डे (भिडिओसहित)


काठमाडौं, २५ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिस्पर्धामा नै नआएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टी अध्यक्ष केपी शर्मा ओली तर्सिरहेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले भण्डारी प्रतिस्पर्धाको ‘रेस’ मा नरहेको बताए । ‘रेस’ मा नै नरहेको व्यक्तिसँग ओली किन तर्सिराखेको हो भन्ने कुरा आफूले बुझ्न नसकेको उनको भनाइ छ । भण्डारीसँग ओली तर्सिनु आवश्यक नरहेको उनको भनाइ छ ।

‘यो भाष्य पनि कसले सिर्जना गरेको हो ? मलाई थाहा छैन । यो गुण्डुले भंगालतिर तेर्स्याएको जस्तो मलाई लाग्छ । अहिले विद्या भण्डारी त ‘रेस’ मा हुनुहुन्न । ‘रेस’ मा नभएको मानिससँग किन तर्सिएको हो भन्ने मैले बुझेको छैन, जो आवश्यक नै छैन,’– उनले भने ।

साथै, ओली भण्डारीको प्रसंगलाई लिएर तल्लो लेवलको बसहमा उत्रिएको पनि उपाध्यक्ष पाण्डेले बताए । चार पटक देशको प्रधानमन्त्री भएको र १२÷१३ वर्ष पार्टीको नेतृत्व गरेको मान्छेलाई त्यो लेवलको बहसमा उत्रिन नसुहाउने उनको भनाइ छ । ओली तल्लो लेवलको बहसमा उत्रिदा पनि भण्डारीको तर्फबाट भने आफूले कुनै कमेन्ट नसुनेको उनले बताए । उनले ‘हेट स्पिच कल्चर’ ले कसैलाई पनि राम्रो नगर्ने बताए ।

‘जुन कुरा आनावश्यक कुरा हो । चारचोटी देशको प्रधानमन्त्री भएको, यत्रो ठूलो पार्टीको अध्यक्ष, १२÷१३ वर्षदेखि पार्टीको अध्यक्ष भइरहेको मानिसले यो लेवलमा बसहमा उत्रिनु उचित हो भन्ने मलाई लाग्दैन । त्यो लेवलमा विद्या भण्डारीको कमेन्ट आएको मैले देखेको पनि छैन । यो काम नगर्नुस् भन्छु म नेताहरुलाई । ‘हेट स्पिच कल्चर’ ले कसैलाई पनि फाइदा गर्दैैन,’– उपाध्यक्ष पाण्डेले भने ।

अध्यक्ष ओलीसँग सल्लाह गरेर नै भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको उपाध्यक्ष पाण्डेको दाबी छ । पछिल्लो समय कुरा नमिलेपछि ओलीले राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउनु उचित हुँदैन भनेर बखेडा निकालेको उनले बताए । उनले ओलीलाई ‘आफ्नै भनाइप्रति प्रतिवद्ध नरहेको मान्छे’ को संज्ञा दिए । यस्ता मान्छेले जनतासामू गरेको कबुल पूरा गर्न नसक्ने उनको भनाइ छ ।

‘कसले भन्छ राष्ट्रपति भएको मान्छेले राजनीति गर्न हुँदैन भनेर भनेको होइन उहाँ (ओली) ले ? विद्या भण्डारीले अध्यक्ष (ओली) सँग नसोधी सदस्यता लिनुभयो होला ? तपाईँ पत्याउनुहुन्छ ? अनि आज के कुरामा तलमाथि पर्यो, त्यो म जान्दिनँ । कहिले के कुरा, कहिले के कुरा गर्न हुँदैन । मौका र मौसमअनुसारको कुरा हुन्छ ? एउटै कुरा गर्नुपर्छ । आफ्नै भनाइप्रति प्रतिवद्ध नहुने मान्छेले जनतासामू गरेको कवुल कसरी पूरा गर्छ भन्ने प्रश्न खडा गर्छ,’– उनले भने ।