देशलाई संवैधानिक ट्रयाकमा ल्याउन निर्वाचन आवश्यक छः जेन-जी अभियन्ता बम


काठमाडौं, २५ मंसिर । जेन–जी अभियन्ता रक्षा बमले देशलाई संवैधानिक ट्रयाकमा ल्याउनका लागि पनि निर्वाचन आवश्यक रहेको बताएकी छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भनिन्, ‘यो देशलाई संवैधानिक ट्रयाकमा लिएर आउनका लागि निर्वाचन आवश्यक छ ।’

साथै, उनले संसद् पुनर्स्थापना अब सम्भव नरहेको पनि बताईन् । ‘संसद् पुृनर्स्थापना हामी फेरि पछाडि फर्किएर जाँदैनौं,’– उनले भनिन् ।

जेन–जी अभियन्ता बमले आसन्न निर्वाचनमा नयाँ वैकल्पिक शक्तिहरुसँग दह्रो अलाइन्स गर्ने तयारी रहेको बताईन् । जेन–जी आन्दोलनको मर्म बोकेर अगाडि बढ्ने वैकल्पिक शक्तिहरुसँग आफूहरुले सहकार्य गर्ने उनले बताईन् ।

संविधान र लोकतन्त्र चाहने जेन–जीहरुबीच हिजो सरकारसँग भएको सम्झौतालाई लिएर कुनै पनि विवाद नहुने उनले बताईन् । उनले लोकतन्त्र र संविधानप्रति आफूहरु प्रतिवद्ध रहेको बताईन् ।