सरकार र जेन-जी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन, राजपत्रमा प्रकाशन गरिने


काठमाडौं, २५ मंसिर । सरकार र जेन–जी प्रतिनिधिबीच हिजो (बुधबार) भएको १० बुँदे सम्झौता मन्त्रिपरिषद्बाट अनुमोदन भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सम्झौता अनुमोदन गरेको हो ।

सरकारका प्रवक्ता जगदीश खरेलले अब उक्त सम्झौता राजपत्रमा प्रकाशन गरिने बताए । राजपत्रमा सम्झौता प्रकाशन भएपछि सम्बन्धित मन्त्रालयहरुलाई सोहीबमोजिम काम कारबाही अगाडि बढाउन पनि निर्देशन दिइएको बताइएको छ ।

सरकार र जेन–जी प्रतिनिधिबीच हिजो सम्झौता भएको थियो । जसमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोनलाई जनआन्दोलनको संज्ञा दिइएको छ । जेन–जी आन्दोलनमा सहभागी भएकै कारण कसैलाई पनि फौजदारी मुद्दा नचलाइने, संशोधन सुझाव आयोग गठन गर्ने, जेन–जी परिषद् गठन गर्नेलगायतका सहमति भएको थियो ।