काठमाडौं, २५ मंसिर । सर्वोच्च अदालतको अन्तरिम आदेशको अवज्ञा गर्दै सडक विभाग र गृह मन्त्रालयको समन्वयमा मकवानपुरको हेटौडामा ५३१ घर भत्काइएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सरोकारवालाहरुले उक्त घटनामा संलग्न सरकारी पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी, सडक विभागका विभागीय प्रमुखलगायतको राजीनामा माग गरेका हुन् ।
सरोकारवालाहरुले बताएअनुसार महेन्द्र राजमार्गअन्तर्गतको बुद्ध चोकदेखि राप्ती पुल र बुुद्ध चोकदेखि काठमाडौंतर्फ आउने त्रिभुवन राजपथको समरी भन्न् ठाउँसम्मका सडक छेउका ५३१ घर सडकमा सडक विभागले सर्वोच्चको आदेशको अवज्ञा गर्दै गत शनिबार (मंसिर २० गते) डोजर चलाएको थियो । मंसिर १९ गते सर्वोच्चले सो क्षेत्रको घरहरु नभत्काउन अन्तरिम आदेश दिएकोमा त्यसकै भोलिपल्ट डोजर चलाइएको हो ।
सरोकारवालाहरुले सो क्रममा गिरफ्तारीमा परेकाहरुको विना शर्त रिहाइको माग गरेका छन् । साथै राज्यले त्यहाँका जनतासँग माफी माग्नुपर्ने समान नेपाल संस्थाका आरके तामाङले बताए । त्यसैगरी अन्तर्राष्टिय अभ्यासअनुुसार विकासको कामहरु गर्दा सम्बन्धित क्षेत्रका जनताको अनुमती लिनुपर्ने पनि सरोकारवालाहरुको माग छ ।
त्यस्तै, उनीहरुले भत्काइएको घरहरुको क्षतिपूर्ति र पुनर्स्थापनाको लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।




प्रतिक्रिया