-कमल खत्री
बेनी (म्याग्दी), २६ मङ्सिर । म्याग्दीमा राजनीतिक, सामाजिक र व्यावसायिक नेतृत्वमा महिलाहरूको सक्रियता बढ्न थालेको छ । केही वर्ष अघिसम्म घरायसी कामकाजमा मात्र सीमित हुने महिलाहरू अहिले भने राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील हुन थालेका हुन् । मुख्य राजनीतिक दलहरूमध्ये नेकपा (एमालेको) जिल्ला कमिटीको पदाधिकारी र केन्द्रीय समितिमा समेत महिलाहरूको प्रतिनिधित्व छ । एमालेको स्थायी कमिटी सदस्यमा म्याग्दीबाट थममाया थापा छिन् ।
थापा पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत थिइन्। त्यसैगरी संविधानसभा सदस्यसमेत रहेकी नरदेवी पुन एमालेको केन्द्रीय सदस्य हुन् । म्याग्दीमा सशक्त महिला नेतृको पहिचान बनाएकी पुनले गण्डकी प्रदेश सरकारमा सामाजिक विकासमन्त्री र सङ्घीय सरकारमा पशुपन्छी विकास राज्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेकी छिन् । एमालेको जिल्ला कमिटीमा धमसरा पुन सचिव छिन् । उनले २०७४ सालमा धवलागिरि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गरिसकेकी छिन् ।
एमालेको तर्फबाट २०७४ सालमा मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी महिला नेतृ खरमाया बिटालु हाल अनेमसङ्घ गण्डकी प्रदेश कमिटीको अध्यक्ष हुन् ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बनेर बेनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित ज्योति लामिछाने पार्टीको प्रदेश कमिटी सदस्यसमेत हुनु । उन अनेमसङ्घ (क्रान्तिकारी) को जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुन् । माओवादीको प्रदेश कमिटीमा म्याग्दीबाट लामिछानेसँगै अम्बिका ढुङ्गाना, चिना हमाल, गौरी सेञ्चुरी र मनमाया चोचाङ्गीको प्रतिनिधित्व छ ।
नेपाली कांग्रेस म्याग्दीमा पार्टी विधानबमोजिम महिलाहरूको प्रतिनिधित्व भए पनि पार्टीको पदाधिकारी तहमा महिलाहरू पुगेका छैनन् । विसं २०७९ को प्रदेशसभा निर्वाचनमा काँग्रेसबाट गण्डकी प्रदेशसभामा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा निर्वाचित विमला गौचनको गत वर्षको कात्तिकमा निधन भएको थियो ।
काँग्रेसमा गौचन सशक्त महिला नेतृत्वका रूपमा स्थापित भइएकी थिइन् । कांग्रेस म्याग्दीबाट महासमिति सदस्यमा युवा नेतृ मनकुमारी विक निर्वाचित भएकी थिइन् । यसअघि म्याग्दीबाट महाधिवेशन प्रतिनिधिसमेत रहेकी विक कांग्रेसको युवा महिला नेतृका रूपमा परिचित छिन् । मुख्य राजनीतिक दलहरूका गतिविधिमा महिलाको सहभागिता बढ्दो छ ।
स्थानीय तहमा महिलाको उपस्थिति
छ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका अध्यक्ष र वडाध्यक्षमा महिला शून्य छन् । बेनी नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट रेशम पुनमगर पुरुष नै निर्वाचित छन् ।
एमालेको तर्फबाट मालिका गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मीदेवी घर्तीमगर, मङ्गला गाउँपालिकाको उपाध्यक्षमा प्रेमा क्षेत्री र अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुन निर्वाचित छन् भने नेपाली काँग्रेसबाट रघुगङ्गा गाउँपालिकाको उपाध्यक्षमा प्रेमकुमारी पुन निर्वाचित छिन् । वडा सदस्यमा महिला र दलित महिलाबाहेक खुला सदस्यबाट थप महिला सदस्यहरू चुनिएका छैनन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा महिला चुनिएका थिए ।
अघिल्लोपटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देवीस्थानको वडाध्यक्षमा काँग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडाध्यक्षमा काँग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बनेका थिए । यस पटक पालिका प्रमुख अध्यक्ष र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य भए पनि अघिल्लो पटकको भन्दा चुनावी प्रतिस्पर्धामा भने महिलाहरूको सङ्ख्या बढोत्तरी भएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका थिए ।
रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मीना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बनेका थिए । त्यसैगरी, मङ्गला गाउँपालिका–४ मा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे तथा रघुगङ्गा गाउँपालिका–२ भगवतीको वडाध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए । पालिका र वडाको नेतृत्वमा उम्मेदवार बनेका छ महिला नै पराजित भएका थिए ।
महिलालाई दोहोरो भूमिकाको चुनौती
राजनीतिमा मात्र होइन सामाजिक सङ्घसंस्थामा समेत महिलाहरूको सहभागिता न्यून छ । विशेष गरी विद्यालय, सङ्घसंस्था र विकास निर्माणका उपभोक्ता समितिको नेतृत्वमा महिलाहरू नगन्य हुन्छन् ।
संविधानले व्यवस्था गरेको ३३ प्रतिशत सहभागिताबाहेक नेतृत्वदायी भूमिकामा महिलाहरूलाई पुर्याउन अहिले पनि उत्तिकै समस्या छ । राजनीति र सामाजिक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि मूल नेतृत्वमा महिलाको सहभागिता कलस्टरमा मात्र सीमित रहने गरेको नेकपा एमाले म्याग्दीका सचिव थमसरा पुनले बताइन् ।
“पार्टीका गतिविधि र कार्यक्रममा महिलाहरूको सक्रियता बढ्दो छ, अझै पनि महिलालाई सहज रूपमा नेतृत्व दिने वातावरण बनिसकेको छैन, हामीले पनि नेतृत्व गर्न सक्छौँ भनेर बुझाउन र विश्वास जित्न सङ्घर्ष गर्नुपर्ने अवस्था छ”, पुनले भनिन् ।
महिलाहरूका लागि राजनीति र सामाजिक क्षेत्रको नेतृत्वका लागि समाजको दृष्टिकोण, उचित समय र वातावरण मुख्य चुनौती हुन् । महिलाहरूले घर व्यवहारको काम र बालबच्चाको स्याहारसुसारलाई समेत सकेर राजनीति र सामाजिक क्षेत्रमा समय दिनुपर्ने भएकाले पुरुषको तुलनामा महिलाहरूमाथि धेरै जिम्मेवारीको भारी बोक्नुपर्ने अवस्था रहेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् । “नेपालको संविधानले व्यवस्था गरेबमोजिम सामाजिक, राजनीतिक क्षेत्रमा महिला सहभागिता बढ्दो छ, यो निकै खुसीको कुरा हो, तर नेतृत्वदायी भूमिकामै महिलाहरूलाई पुर्याउन पुरुषवादी चिन्तन मुख्य समस्या बनेको छ”, उनले भनिन् ।
उद्यमशीलतामा महिला सक्रियता
परम्परागत रूपमा पुरुष घरमुली बन्ने र महिला घरको चुलोचौकाको काममा सीमित हुने परिपाटी बिस्तारै फेरिँदै गएको छ । म्याग्दीको सन्दर्भमा उद्यमशीलता र व्यावसायिक क्षेत्रमा महिलाहरूको सक्रियता बढेको छ ।
सदरमुकाम बेनीमा एकल रूपमा महिलाहरूकै नेतृत्वमा पनि व्यापार व्यवसाय र उद्यम सञ्चालन गरेर आत्मनिर्भर बन्ने र घरपरिवारको आर्थिक अवस्थामा सुधार ल्याएका धेरै उदाहरण रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविनकुमार श्रेष्ठले बताए । उनका अनुसार बेनीमा महिलाको नेतृत्वमा लोकल मार्ट, व्यूटीपार्लर, टेलरिङ, होटल व्यवसाय, खाद्यान्न, भाँडा पसल, फर्निचरलगायत व्यवसाय धेरै सञ्चालनमा छन् ।
“महिलाहरूले सञ्चालन गरेका व्यवसायबाट स्वरोजगार र आर्थिक रूपमा आत्मनिर्भरता बढाएको छ, त्यसबाट धेरैले रोजगारी पनि पाएका छन्”, अध्यक्ष श्रेष्ठले भने । महिलाहरू मितव्ययी र पारदर्शी हुने भएकाले उनीहरूले सञ्चालन गरेका व्यवसायको दिगोपना हुने गरेको उनको अनुभव छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घले महिला उद्यमी र व्यवसायीहरूलाई महिला उद्यम विकास समितिमार्फत सङ्गठित गराएको छ । सङ्घमा हाल स्थायी र अस्थायी गरी करिब दुई हजार ५०० सदस्य रहेकामा करिब ३० प्रतिशत महिला छन् । महिलालाई व्यावसायिक र उद्यमशील बनाउनका लागि सरकारले समेत सहुलियतपूर्ण ऋण र अनुदानमा प्रोत्साहन गर्ने नीति लिएको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकार र मातहतका कार्यालयले समेत महिलालाई लक्षित गरेर क्षमता विकास, सीप विकासका साथै उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम र तालिम सञ्चालन गर्दै आएका छन् । रासस




प्रतिक्रिया