निर्वाचन वैशाखमा पुगे पनि त्यसलाई स्वाभाविक रुपमा स्वीकार गर्नुपर्छः महामन्त्री शर्मा


काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभाको निर्वाचन वैशाखमा पुगे पनि त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् । जेन–जी समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर परे पनि स्वाभाविक रुपमा लिनुपर्ने बताएका हुन् । उनले सहमति र सहकार्यमार्फत आगामी यात्रालाई सहज बनाउनु सबैको साझा दायित्व रहेको पनि बताएका छन् ।

महामन्त्री शर्माले सरकार र जेन–जीबीचको सहमतिलाई स्वागत गरेका छन् । उनले विभिन्न आन्दोलनको जगमा प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्ने सहमति महत्त्वपूर्ण रहेको बताएका छन् । जेन–जी प्रदर्शनले स्थापित गरेको ‘सुशासनको संकल्प र अठोट’ आगामी दिनका लागि सबैको साझा जिम्मेवारी र साझा कर्तव्य बन्नुपर्ने उनको भनाइ छ ।

साथै, सरकारले जेन–जीसँग सम्झौता गर्दैगर्दा राजनैतिक दलहरू लोकतन्त्रको मुख्य र अविछिन्न सारथि हुन् भन्ने तथ्य हेक्का नराखेको प्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले सहमतिको हस्ताक्षर गरिरहँदा दलहरूलाई स्वामित्व र अपनत्वमा गाँस्न नसकेको उनको बुझाइ छ ।

महामन्त्री शर्माले गत भदौ २३ को बल प्रयोगउपरको कार्वाही सँगसँगै २४ गतेको ध्वंसको गहिरो छानबिन र कार्वाहीको बिषयमा बिना मोलाहिजा राज्य प्रस्तुत हुनुपर्ने बताएका छन् । File Photo/RN