काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले आफू पार्टीभित्रको कुनै पनि गुटको राजनीतिमा नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू एमालेको मूल बाटोमा रहेको बताएका हुन् । ‘म अहिलेसम्म कुनै पनि गुटको राजनीतिमा छैन । म एमालेको मूल बाटोमा छु । म नै त्यस्तो कार्यकर्ता हुँ, जुन कार्यकर्ताले कहिल्यै पनि बाटो बिराएको छैन । गलत बाटो हिँडेको छैन । अलमलमा कहिले पनि परेको छैन,’– उनले भने ।
एमालेले तय गरेको गन्तव्यमा शतिसाल भएर अगाडि बढिरहेको उनले बताए । आफू एमालेको इमानदार कार्यकर्ताको रुपमा रहने बताए । उनले पार्टीको आसन्न ११औं महाधिवेशनमा आफू पदाधिकारीको उम्मेदवारको रुपमा रहेको बताए । उनले एमालेको नेतृत्वमा केपी शर्मा ओलीको विकल्पको परिकल्पना गर्न नसकिने बताए । ‘केपी शर्मा अोलीको विकल्पको कुरा गर्ने कुरा, अरु परिकल्पनातिर डौडिने कुरा त्यो सम्झव छैन । जुन बेला देश संकटमा छ, यस्तो अवस्थामा देशलाई संकटबाट बाहिर निकाल्नुपर्ने छ । हाम्रो लोकतन्त्र र संविधान धरापमा परेको छ । यस्तो अवस्थामा एमालेले केपी शर्मा ओलीको विकल्प खोज्ने कुरा देशै नरहनेतिर धकेल्नु हो,’– उनले भने ।
नेता राईले पार्टी अध्यक्ष ओली राष्ट्र र राष्ट्रियताको सम्बन्धमा सतिसाल झैं दृढ रहेको पनि बताए । अहिले ११औं महाधिवेशनको पूर्व सन्ध्यामा केपी ओलीविनाको एमाले कसरी बनाउन सकिन्छ भन्ने बारेमा षड्यन्त्र भइरहेको पनि बताए । ओलीविनाको एमाले लुलो, लङ्गडो र जसले पनि खेलाउन र चलाउन सक्ने बन्ने उनको टिप्पणी छ ।
‘केपी ओली विनाको एमाले र एमालेविनाको नेपालको परिकल्पना गरेर लगातार अनेक षड्यन्त्रहरु हुँदै आएका छन् । अनेक घेरबन्दीहरुको बीचबाट एमाले अगाडि बढिरहेको छ । केपी ओलीविनाको एमाले कसरी बनाउन सकिन्छ, ता कि एमाले लुलो होस्, लङ्गडो होस्, जता पनि खेलाउन सकियोस्, चलाउन सकियोस् भन्ने अनेक तानाबाना बुन्ने काम भइरहेको छ । यो नेकपा (एमाले) को पंत्तिले राम्रो बुझेको छ । यतिबेला राष्ट्रले नै केपी ओलीको विकल्प सोच्न नसक्ने अवस्थामा मुलुक छ,’– उनले भने ।




प्रतिक्रिया