काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले सरकारले अध्यक्ष केपी शर्मा अोलीलाई पक्रिने, धरपकड गर्नेजस्ता कुरा चलाएर एमालेको महाधिवेशन बिथोल्ने काम गरिरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले एमाले अध्यक्ष ओलीलाई तर्साउन खोजिरहेको बताएका हुन् । उनले सरकारले तर्साउन खोज्दैमा आफूहरु नतर्सिने बताए ।
‘एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तर्साउने काम यो सरकारले गरिराखेको छ । नेकपा (एमाले) तर्सिन्छ ? हेरौं न कसरी पक्रिन्छ ? केपी शर्मा ओलीलाई धरपकड गर्ने, गिरफ्तार गर्ने जस्ता कुरा चलाएर एमालेको राष्ट्रिय महाधिवेशन बिथोल्ने प्रयास यो सरकारले गरिराखेको छ,’– उनले भने ।
सरकारले ओलीलाई पक्रिन नसक्ने उनको दाबी छ । उसले यस प्रकारको गतिविधिलाई प्रपञ्च भनेका छन् । एमालेलाई कतै कमजोर बनाउन सकिन्छ कि, खेल्न सकिन्छ कि भन्ने दुष्प्रचार गरिरहेको उनले बताए ।
गत भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको जाँचबुझ आयोगमा गएर एमाले अध्यक्ष ओलीले बयान नदिने पनि उनले बताए । ओलीलाई पक्रिएर बयानको लागि आयोगमा लैजाने हैसियत वर्तमान सरकारले नराख्ने उनको भनाइ छ । नेता राईले वर्तमान सरकार र त्यसले बनाएको आयोग दुवै खारेजयोग्य रहेको बताए ।
‘यो सरकारले केपी शर्मा ओलीलाई बयानमा बोलाउने हैसियत राख्दैन । यो सरकारले बनाएको आयोगले त्यो हैसियत राख्नै सक्दैन । एमालेले आफ्नो अधिकारिक अभिव्यक्ति दिइसकेको छ । असंवैधानिक सरकारले बनाएको आयोग खारेजयोग्य छ, सरकार नै खारेजयोग्य छ,’– उनले भने ।
नेता राईले अहिलेको संकटलाई निकास दिनका लागि संसद् पुनर्स्थापना, सर्वपक्षीय सरकार, संविधान संशोधन र अर्ली इलेक्सन भन्दा अर्को विकल्प हुन नसक्ने बताए ।




प्रतिक्रिया