काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले पार्टीको १५औं महाधिवेशनबाट डा.शेखर कोइरालालाई सभापति बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता पोखरेलले कोइरालालाई सभापति बनाएर अगाडि जाँदा पार्टीभित्रको गुट, उपगुटमा देखिएको तिक्तता पनि कम भएर जाने बताए । उनले कोइरालालाई सभापति बनाउने कुरामा महामन्त्री गगनकुमार थापाले. पनि साथ दिने बताए ।
‘सबैको सहमतिमा डा.शेखर कोइरालालाई नै सभापति बनाएर जानुपर्छ । अहिले पार्टीमा गुट, उपगुटमा बढी तिक्तता देखिएको छ, उग्रता देखिएको छ । एकले अर्कोलाई निषेध किसिमको आलोचना गर्ने संसारलाई अन्त्य गरेर त्यसको नेतृत्व शेखर कोइरालाले गर्दाखेरी प्रतिशोध पनि कम हुन्छ,’– उनले भने ।
अहिले नेतृत्वको कारण कांग्रेसका नेताहरुले कांग्रेसलाई नै गाली गरिरहेको उनले बताए । आपसी सद्भाव कायम गरेर सबैलाई मिलाएर जान सक्ने क्षमता डा.कोइरालामा मात्रै रहेको उनको दाबी छ ।
उनले जेन–जी र सरकारबीच भएको सम्झौताबारे बोल्दै युवाहरुको मागलाई सम्बोधन गरिनु आवश्यक रहेको बताए । यस्ता मागहरुको कांग्रेसले पनि स्वामित्व लिएर पूरा गर्नुपर्ने बताए । देशको हितका लागि राखिएको मागको स्वामित्व कांग्रेसले पनि लिनुपर्ने बताए ।
कांग्रेसका सभापति देउवालाई जेन–जीको आन्दोलनमा हातपात र अपमान गरिएको भए पनि देउवा स्वयं र पार्टीका महामन्त्रीलगायतले जेन–जीको माग सम्बोधन गरिनुपर्ने विषय राख्दै आएको पनि उनले स्मरण गराए ।




प्रतिक्रिया