एमालेमा ओलीको विकल्प खोज्ने कुरा प्रतिगमनकारी, यथास्थितिवादी र शक्ति केन्द्रहरुलाई साथ दिनु होः शेरधन राई


काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले अहिले पार्टी नेतृत्वबाट केपी शर्मा ओलीको नेतृत्वको विकल्प खोज्ने कुरा प्रतिगमनकारी, यथास्थितिवादी र अनेक शक्ति केन्द्रहरुलाई साथ दिनु रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनेको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको परिस्थितिमा पार्टी एक ढिक्का भएर जानुपर्नेमा रमिता देखाउने काम भइरहेको बताए । यसले एमालेलाई बलियो नबनाउने बताउँदै उनले नेताहरुलाई गम्भीर हुन आग्रह गरे ।

‘अहिले केपी ओलीको विकल्प खोज्ने कुरा, केपी ओलीलाई विरोधीले भन्दा चर्को आलोचना गर्ने कुरा त प्रतिगमनकारीहरुलाई, यथास्थितिवादीहरुलाई अनेक शक्ति केन्द्रहरुलाई साथ दिने कुरा हुँदैन र ? मूल नेतृत्वलाई रक्षा गर्दै पार्टीलाई एक ढिक्का बनाएर जानुपर्नेमा र यो परिस्थितिको सामना गर्नुपर्नेमा पार्टीभित्र जुनखालको रमिता देखाउने काम भइरहेको छ, यसले एमालेलाई राम्रो गर्दैन, बलियो बनाउँदैन । यसका बारेमा नेताहरु गम्भीर बन्नुपर्छ,’– उनले भने ।

साथै, उनले ओली र एमालेको कारणले देश ओरालो लागेको भन्ने कुरा सत्य नरहेको बताए । गत भदौ २३ र ३४ गतेको जेन–जी आन्दोलन ओलीको कारणले भएको भन्ने कुरा शतप्रतिशत गलत रहेको बताए । उनले ओली तत्कालीन समयमा प्रधानमन्त्रीको भूमिकामा रहे पनि सिंहदरबार, संसद् भवन र न्यायापालिकामा आगो लगाउन आदेश नदिएको उनको भनाइ छ ।

‘एमालेको कारणले, केपी शर्मा ओलीको कारणले देश ओरालो लागेको हो, यो बर्वादीमा पुगेको हो र यो भदौ २३ र २४ गतेको घटना घटेको हो भन्ने कुरा शतप्रतिशत गलत हो । प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले सिंहदरबार, संसद् भवन र न्यायापालिकामा आगो लगाउन आदेश गर्नुभएको हो ? देशलाई खरानी बनाउने काम उहाँले गराउनुभएको हो ?’ प्रश्न गर्दै उनले भने ।

ओलीकै नेतृत्वमा बनेको सरकारको कार्यकालमा नेपालमा अभूतपूर्व विकासले फड्को मारेको तथ्यलाई लुकाउन नमिल्ने उनले बताए । २०७२ सालदेखि यता एमाले अध्यक्ष अ‍ोलीको नेतृत्वमा सरकार रहँदा अभूतपूर्व विकास भएको र असाध्यै राम्रा कामहरु गरेको उनले बताए ।

गत भदौ २३ र २४ गतेको घटनाको पछाडि लामो समयदेखि संविधानविरोधी, संघीयताविरोधी , अस्थिरता चाहनेहरु, अराजकता चाहनेहरु, धर्म र पहिचानको नाममा भाँडभैलो मच्चाउन चाहनेहरु र नेपाललाई कमजोर, अस्थिर भूमिको रुपमा परिणत गरेर आफ्नो स्वार्थको खेलमैदान बनाउन दाउपेच लामो समयदेखि चलेको उनले बताए । जेन–जी युवाहरुको शान्तिपूर्ण आन्दोलनलाई प्रयोग गरेर त्यस्ता तत्वहरुले देशलाई खरानी बनाएको उनले बताए । यस परिस्थितिको सामना गर्नका लागि एमाले र ओलीको नेतृत्व अपरिहार्य रहेको उनले बताए ।

नेता राईजे केपी ओलीले तत्कालीन समयमा संसद् विघटन गरेमा सर्वोच्चले पुनर्स्थापित गरेको स्मरण गरे । तत्कालीन अवस्थामा जननिर्वाचित दुई तिहाइ बहुमतको सरकारले गरेको संसद् विघटनसमेत सदर नभएको बताउँदै उनले अहिले अनिर्वाचित र असंवैधानिक सरकारले विघटन गरेर संसद्लाई सरकारले जायज नमान्ने उनले बताए । सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक बाटोबाट बनेको उनले बताए ।

‘यो सरकार असंवैधानिक बाटोबाट बनेको छ । असंवैधानिक सरकारले सिफारिस गरेर संसद् विघटन गरिएको छ । सर्वोच्च अदालतको विगतको फैसला र नजीरले भन्छ– दुई तिहाइको सरकारले सिफारिस गरेको संसद् विघटन पनि कार्यकाल छउन्जेल सम्भव छैन,’– उनले भने ।