जनमतसंग्रहबाट राजसंस्था पुनर्स्थापना गर्न हुँदैन, यसले झन द्वन्द्व निम्त्याउँछः राजेन्द्र लिङ्देन


काठमाडौं, २६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतसंग्रहबाट नभएर सहमतिबाटै राजसंस्थाको पुनर्स्थापना गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजसंस्थालाई अल्पमत वा बहुमतबाट निर्णय गर्न थालियो भने त्यसले झन जटिलताहरु पैदा गर्ने बताए । उनले अल्पमत वा बहुमतले अस्थिरता र द्वन्द्वलाई प्रोत्साहित गर्ने बताए ।

‘राजसंस्था पुनर्स्थापनाको लागि यदाकदा उठ्ने गरेको जनमत संग्रहको सम्बन्धमा राप्रपा आफ्नो अवधारणा पुनः एक पटक स्पष्ट पार्न चाहन्छ । राप्रपाको परिकल्पनाको राजसंस्था पूर्ण संवैधानिक राजसंस्था हो र यो संस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट होइन, राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्छ । हाम्रो परिकल्पनाको राजा राप्रपाको मात्रै राजा होइन, देशको साझा संस्था हुनेछ । त्यसैले यस्तो साझा संस्था अल्पमत वा बहुमतबाट स्थापित हुने होइन, सहमतिबाट हुनुपर्छ भन्ने राप्रपाको मान्यता छ,’– उनले भने ।

उनले यही असफल संविधान र संवैधानिक व्यवस्थाबाट मुलुकलाई जबरजस्ती अगाडि बढाउने कोशिस गर्न नहुने उनले बताए । उनले जेन–जीको माग सम्बोधन नगरी आम निर्वाचनमा जानु मुलुकलाई थप द्वन्द्वमा धकेल्ने राप्रपाको ठहर रहेको बताए । अध्यक्ष लिङ्देनले आम निर्वाचन अगावै परम्परागत शक्तिको प्रतिनिधि राजा, राजनीतिक दल र जेन–जीबीच नवीन समझदारी गर्दै राष्ट्रिय सहमति गर्न ढिला गर्न नहुने उनले बताए ।