आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह


काठमाडौँ, २६ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै राष्ट्रसङ्घीय निकाय, गैरसरकारी सङ्घसंस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतलगायत सम्बद्ध सबैले आफ्नो तर्फबाट आवश्यक पहल एवं सहयोग गर्न अनुरोध गरेको हो ।

“प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाहगरी नागरिक सुरक्षामा योगदान पु¥याउनु हुनसमेत आग्रह गर्दछ”, प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा उल्लेख छ ।

पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो समय सुक्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन बहुपक्षीय सहकार्य, समन्वय र सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्राधिकरणले आगलागीजन्य विपद् रोकथाम तथा न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्न सचेतनामूलक श्रव्यदृश्य सामग्री लक्षित वर्ग, क्षेत्र र समुदायमा पु¥याउन आग्रह गरेको छ । रासस