काठमाडौं-३ बाट कांग्रेसले विधानविपरीत उम्मेदवार सिफारिस गरेको भन्दै युवा नेताहरुको आपत्ति, क्षेत्रीय कार्यालयमा लाग्यो ताला


काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं.–३ बाट एकल नाम सिफारिस गरिएको भन्दै विवाद सिर्जना भएको छ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलका नेता तथा कार्यकर्ताहरुले तरुण दलका केन्द्रीय सदस्य दीप लामाको नेतृत्वमा काठमाडौं क्षेत्र नं.–३ का क्षेत्रीय सभापति श्रीराम चालिसेलाई ध्यानाकर्ष पत्र बुझाउँदै जोरपाटीको कार्यालयमा तालाबन्दी गरेका छन् ।

कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनका लागि सबै क्षेत्रबाट ३÷३ जनाको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो । पार्टीको निर्देशनविपरीत काठमाडौं क्षेत्र नं. ३ बाट सन्तोष चालिसेको नाममात्रै सिफारिस भएको थियो ।

चालिसेबाहेक नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र कांग्रेस नेता शम्भु अधिकारी उम्मेदवारका आकांक्षी रहेका थिए । उनीहरुले विधि÷विधान विपरीत प्रस्तावित नाम सिफारिस तत्काल सच्याउन माग गरेका छन् ।

‘काठमाडौं क्षेत्र नं. ३ को आज बन्द कोठामा बसेको कार्यसमिति बैठकमा, केन्द्रीय निर्देशन, पार्टी विधान र संरचनागत प्रक्रिया पूर्ण रूपले मिच्दै, अघिल्लो संरचनाबाट पठाइएका आधिकारिक नामहरू पन्छ्याइयो र अनधिकृत रूपमा नयाँ नाम सिफारिस गरिएको जस्तो गम्भीर तथा विधि(विपरीत घटना भएको जानकारी प्राप्त भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यस प्रकारको एकलौटी, अपारदर्शी र मनोमानी निर्णय ले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र, संगठनात्मक शुशासन र प्रणालीगत निर्णय प्रक्रियामाथि गम्भीर धक्का पुर्याएको छ, जुन कदापि स्वीकार्य छैन । पार्टीको विधान मिचेर, पदको दुरुपयोग गर्दै, एक पक्षीय शैलीमा गरिएको निर्णयमाथि हाम्रो गम्भीर आपत्ति छ ।’