अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन लिङ्देनको माग


काठमाडौँ, २६ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई मतदानको व्यवस्थासहित अन्तर जिल्ला मतदानको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू आज सार्वजनिक गर्दै उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन सम्भव रहेकाले सोही व्यवस्थासहित निर्वाचन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका हुन् ।

‘विदेशमा रहेका नेपालीलाई विदेशबाटै र स्वदेशमै पनि अन्तर जिल्ला मतदानको व्यवस्था गर्न सम्भव छ । त्यसको सुनिश्चितता गरेरमात्र निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्छ,’ अध्यक्ष लिङ्देनले भने ।

राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिका लागि सरकारसँग माग गर्ने केन्द्रीय कार्यसमितिले निर्णय गरेको उनले जानकारी दिए । अध्यक्ष लिङ्देनका अनुसार राप्रपाले आगामी पुसमा जनसंवाद र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । यस्तै, राप्रपाकातर्फबाट मधेस प्रदेशसभाका सदस्य कञ्चन बिच्छालाई सांसद पदबाट फिर्ता बोलाउने निर्णयलाई बैठकले अनुमोदन गरेको उनले जानकारी दिए ।