अध्यक्षले प्यानल बनाउनु भएन भने अरू कसैले प्यानल बनाउँदैन : कर्ण थापा (भिडिओ–सहित)


काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले पार्टीको ११औं महाधिवेशन आज भव्य रुपमा उद्घाटन हुने बताएका छन् । उनले महाधिवेशनलाई सफल बनाउन आह्वान गरेका छन् । उनले नीतिमा बहस हुने र नेतृत्वमा प्रतिष्पर्धा हुने भन्दै यो सबै कुरा महाधिवेशन प्रतिनिधिहरुले फैसला गर्ने बताए ।

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले यसपटक नेतृत्वमा हुने प्रतिष्पर्धा स्वस्थ हुने बताए । उनले आफूहरुले अहिले कुनै प्यानल नबनाएको स्पष्ट पारे । उनले आ–आफूलाई ईच्छा लागेको पदमा उम्मेद्वार दिने भनिएको सुनाए ।

उनले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको लागि हुने प्रतिष्पर्धाको लागि प्यानल बनाउन नहुने सुझाव दिए । उनले भने,‘अध्यक्षले प्यानल बनाउनुभएन भने अरु कसैले पनि प्यानल बनाउँदैन । अध्यक्षले के गर्नुहुन्छ भनेर हामीले हेरिरहेका छौं । १५ पदाधिकारीमा ५० भन्दा बढि जना ईच्छुक हुनुहुन्छ ।’ उनले यसपटक नेतृत्वमा कडा प्रतिष्पर्धा हुने दाबी गरे । आफूले पनि पदाधिकारीमा दाबी गरेको र त्यसबाट ब्याक नहुने थापाको भनाई छ ।