अब सरकारले रवि लामिछानेको विषयमा आफ्नो दृष्टिकोण क्लियर पार्नेछ : यज्ञमणि न्यौपाने (भिडिओ-सहित)


काठमाडौं, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले रवि लामिछानेको केसमा अदालत नचुक्ने दाबी गरेका छन् । उनले भने,‘अदालतलाई हामीले मान्नुपर्छ, अदालत कतिपय केसमा नचुकेको होईन, चुकेको पनि छ । तर, नेपालको अदालत सबै ठाउँमा चुकेको छैन, ठूला ठूला शासकलाई पनि कानूनको दृष्टिले लाईनमा ल्याएको छ, दुई दुई पटक संसद् विघटन गर्ने केपी ओलीलाई अदालतले लाईनमा ल्याएको छ, त्यसैले रवि लामिछानेको विषयमा अदालत चुक्छ भन्ने कुरामा विश्वस्त छैन ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । अब वर्तमान सरकारले समेत रवि लामिछानेको विषयमा आफ्ना दृष्टिकोण क्लियर पार्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

उनले भने,‘गृहमन्त्री कानूनको विद्यार्थी हुनुहुन्छ, प्रधानमन्त्री कानूनको विद्यार्थी हुनुहुन्छ, कानूनमन्त्री पनि कानूनकै विद्यार्थी हुनुहुन्छ, त्यतिमात्रै होईन यो देशको न्यायालय सम्हालेको व्यक्तिहरु हुनुहुन्छ, आशा गरौं अब उज्यालोको दियो बल्नेछ ।’ रास्वपाले पूराना राजनीतिक दलसँग सहकार्यसमेत नगर्ने उनको भनाई छ । उनले वैकल्पिक राजनीतिक सोच भएका सबैसँग सहकार्य र एकता हुनसक्ने बताए ।