कांग्रेस चुनावमा जाने कुरामा प्रष्ट छ, सरकारले चुनाव गराउने भरोसा दिलाओस् : शिवाकोटी


काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले १५औं महाधिवेशन घोषित मितिमै हुनेगरि तयारी थालिएको र काम भइरहेको विश्वास दिलाएका छन् । उनले कांग्रेसको यसपटकको महाधिवेशनमा नेतृत्व परिवर्तन हुने भन्दै त्यसको थालनी भइसकेको बताए ।

उनले भने,‘कांग्रेसमा परिवर्तनको तिव्र चाहना छ । विशेष महाधिवेशनको प्रस्ताव ल्याउनुपनि परिवर्तनको चाहना नै हो । १५औं महाधिवेशनको जग नै यही नै बनेको हो । पार्टीलाई १५औं महाधिवेशनसम्म पुर्याउन महामन्त्री गगन थापाले सशक्त भूमिका खेल्नुभएको छ, यही तप्कालाई नेतृत्वको रुपमा देख्न चाहिरहरेका छन् ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरिसकेकोले सरकारले उचित वातावरण बनाउनेतर्फ काम गर्नुपर्ने बताए । उनले भने,‘हामी चुनावमा जाने भनेर निर्णय गरिसकेका छौं । सरकारले समयमै गर्छ कि गर्दैन् भन्ने बहस चलिरहेकोछ, उचित वातावरण नबनिसकसको गुनासो छ । सरकार चुनाव गराउनकोलागि शान्ति तथा सुरक्षाको वातावरण बनाउन लागोस । राजनीतिक दलहरु चुनावको लागि तयार छन् । सरकारले प्रष्टसँग भन्नुपर्छ–हामी उचित वातावरण बनाउँछौं भनेर । यो सरकारले चुनाव गराउने कुरामा भरोसा दिलाओस । कांग्रेस चुनावमा जाने कुरामा प्रष्ट छ ।’

उनले पार्टीको १५औं महाधिवेशनको लागि क्रियाशिल सदस्यताको वितरण भइरहेको सुनाए । उनले थपे,‘हामी १५औं महाधिवेशनको सम्मुखमा छौं । यतिखेर क्रियाशिल सदस्यताको वितरण भइराखेको छ । अहिले तहगत रुपमा जिल्ला तहसम्म बुझाउने काम भइरहेको छ । क्रियाशिल सदस्यता व्यवस्थापन समितिको तर्फबाट समन्वय गर्ने र अनुगमन गर्ने काम भइराखेको छ। त्यो डाटाहरु केन्द्रीय कार्यालयमा पठाउने काम भइराखेको छ । अब हामी तहगत अधिवेशनहरु गर्नुपर्ने अवस्थामा केही समयमा पुग्दैछौं । महाधिवेशनको टाईट कार्यतालिका छ। यसले महाधिवेशन प्रभावित पार्छ कि भन्ने कुरा आईराखेको छ । महामन्त्री गगन थापा, जो सदस्यता व्यवस्थापन समितिको संयोजक हुनुहुन्छ, उहाँले आजमात्रै क्षेत्रीय सभापतिसँग बैठक गर्नुभएको छ । अहिलेसम्म भइराखेका कामको जानकारी गराउनुभएको छ । हामी महाधिवेशनतर्फउन्मुख छौं ।’

उनले प्रदेशको महाधिवेशन यदि भ्याउने अवस्था नरहने हो भने संसदीय चुनावपछि सारेर भएपनि केन्द्रीय महाधिवेशन हुनुपर्छ भन्ने छलफल उठ्न थालेको स्मरण गराए । उनले भने,‘अहिलेको नियमित कार्यतालिका प्रभावित हुने अवस्था बन्यो भने, २४८८ जनाले हस्ताक्षर गरेर बनाएको डकुमेन्ट अहिलेपनि अस्तित्वमा छ । त्यतिवेला विशेष महाधिवेशनको प्रस्ताव एक्टिभ हुने अवस्था आउनसक्छ । विशेष महाधिवेशनलाई किनारामा ल्याएर नै यो नियमित महाधिवेशनको कार्यतालिका छ । यो नियमित महाधिवेशनको कार्यतालिाका प्रभावित भयो भने दफा १७ को २ अनुसार विशेष महाधिवेशनमा जानुपर्ने अवस्था छ ।’