जेन–जी र सरोकारवालाहरुको सहभागितामा राष्ट्रिय सहमति गरेर राष्ट्रपतिलाई बुझाउनुपर्छ, राष्ट्रपतिले संसद्को आह्वान गर्नुपर्छ : राजन दाहाल


काठमाडौं, २७ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका प्रभवशाली नेता राजन दाहालले अहिले जनताले सरकार छ भनेर कुनै अनुभूति नगरेको गुनासो पोखेका छन् । उनले सुशीला सरकार बाध्यात्मक परिस्थितिको उपज भएको प्रतिक्रिया दिए ।

दाहालले अहिले देशको परिस्थिति बदलिएको सुनाए । उनले भने,‘जेन–जी विद्रोहपछि परिस्थिति बदलिएको छ । पार्टी बन्ने र भत्किने क्रम जारी छ । कांग्रेस र एमालेको संयुक्त सरकारले गरेको बथिति अनि भ्रष्टाचारले सिमा नाघेपछि जनताको आक्रोशले सिमा नाघ्यो । बालुवाटारबाट प्रधानमन्त्री भागेर सुपारीटार हुँदै गुण्डु पुग्नुपर्यो । सबै सरकारी संरचना ध्वस्त भयोे । खरबौंको भौतिक संरचनाको क्षति भयो । मानवीय क्षति व्यहोर्नुपर्यो । कांग्रेस र एमालेको सरकारले जनउत्तरदायी भूमिका खेलेन, अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो भएन । भदौ २३ गतेको नरसंहार भएपछि २४ गते घट्ना भयो ।’

वर्तमान सरकारको कामको प्रभाव जनतामा पर्नुपर्नेमा अहिले त्यस्तो अनुभूति जनताले गर्न नपाएको दाहालको गुनासो छ । उनले भने,‘जनताले सरकार छ भन्ने अनुभूति पाएका छैनन् । सरकार राष्ट्रिय अवाश्यकतासँग जोडिएको छैन ।’

दाहालले पूरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने ठोकुवा गरे । उनले भने,‘पूरानै तरिकाबाट निर्वाचनमा जाँदा धेरथोरै फरक हुन्छ। शासकीय स्वरुपमा परिवर्तन हुनुपर्छ । मुलुकलाई निकास चाहिएको छ । पूरानै प्रकृतिको प्रतिनिसिधभाको चाहिएको हो त ? जेनजीको माग प्रत्यक्ष कार्यकारी हो । सुशासन हो । युवा पुस्ताको माग सम्बोधन नगरी निर्वाचन जानुहुँैन । पूरानै निर्वाचनको निरन्तरता असफल सावित भइसकेको छ । हामीले गम्भीर बहस तथा समिक्षा गर्नैपर्नेछ । पूरानै प्रवृत्तिबाट निर्वाचनमा गयौं भने सुधार हुँदैन । अहिले शासकीय स्वरुप र निर्वाचन प्रणालीबारे गम्भीर छलफल नगरिकन, प्रत्यक्ष कार्यकारीमा गएनौं भने मुलुकले निकास प्राप्त गर्नसक्दैन् ।’

दाहालले युवा पुस्ताको माग सम्बोधन नगरिकन निर्वाचनमा जाँदा निकास ननिस्किने दाबी गरे । उनले तत्काल जेनजीहरुको उपस्थितिमा सरोकारवाला निकायहरुको सहभागितामा राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने आवश्यकता औंल्याए । उनले भने,‘निर्वाचनअघि हामीले गम्भीर छलफल गर्नुपर्छ । बहस गर्नुपर्छ । जेनजीहरुको उपस्थितिमा सरोकारवाला निकायहरुको सहभागितामा हामीले राष्ट्रिय सहमति कायम गर्नुपर्छ । संविधान संशोधनको विषयमा, शासकीय स्वरुपको विषयमा, निर्वाचन प्रणालीको विषयमा । जेनजीसहितको सहभागितामा राष्ट्रिय सहमति कायम गरिसकेपछि हामीले जे लिखित प्रतिबद्धता जाहेर गर्छौं, त्यो लिखित प्रतिबद्धता राष्ट्रपतिलाई बुझाउनुपर्छ । अनि राष्ट्रपतिले संसद्को आह्वान गर्नुपर्नेछ । संसद्को पहिलो बैठकबाट संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारीको एजेण्डामा जानुपर्छ । युुवा पुस्ता अघि बढ्न चाहेको हो । पछि फर्कन चाहेको होईन ।’

उनले कांग्रेसले दोहोरो भूमिका खेलेको भन्दै आलोचना गरे । पार्टीको आधिकारिक फोरमबाट निर्वाचनमा जाने भनेर निर्णय गरेको भएपनि एउटा टिम संसद् पूनःस्थापनाको रिट लिएर अदालत गएकोमा दाहालले कांग्रेसको भूमिकामाथि प्रश्न उठाए । दाहालले नेकपाले अबको निर्वाचनमा एकल सरकार चलाउने म्याण्डेट प्राप्त गर्ने पनि दाबी गरे ।