काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार हुनुको कारण केलाएका छन् । पार्टीको ११औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो सुनाएका हुन् । आफूहरुले ‘देशहरु भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ?’ यसो भन्दा आफूहरुमािथ प्रहार भएको उनको भनाई छ । उनले संविधान बनाउने अधिकार आफूहरुको हो भनेर भन्दापनि कतिलाई मन नपरेको र आफूहरुमाथि प्रहार भएको सुनाए ।
उनले भनेका छन्,‘मी सार्वभौम मुलुकका रुपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।’
यस्तो छ ओलीको लिखित सम्बोधनको पूर्णपाठ
तपाईँहरुलाई सुन्दर नगरी भक्तपुरमा हार्दिक स्वागत गर्दछु ।
भक्तपुर– गौरवपूर्ण इतिहास र संस्कृति बोकेको विश्व सम्पदा,
हरेक लोकतान्त्रिक आन्दोलनमा बलिदानको कीर्तिमान राखेको देशभक्त नागरिकहरुको बासस्थान, परिश्रमी र इमान्दार किसानहरुका पसिनाले सिँचित उर्बर भूमि,
यस ऐतिहासिक नगरीमा तपाईँहरुको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु ।
सम्झिरहेको छु, ३ महिना अगाडिका ती कहालीलाग्दा दिनहरु– जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो,
जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला गरिएको थियो,
र एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो– पुराना पार्टीहरु सकिए, नेताहरुका दिन गए । एमालेको सान्दर्भिकता समाप्त भयो ।
धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ ।
मङ्सिरको चिसो सिरेटो पञ्छाउँदै यहाँ आउनु हुने तपाईँहरु सबैलाई फेरि पनि हार्दिक स्वागत छ ।
नेपालका प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौँ ।
तर, यिनै थोपा भित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो ।
दाजुभाइ दिदीबहिनीहरु,
आजबाट हामी हाम्रो पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन सुरु गर्दैछौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएयता हामीले ७७ वर्ष व्यतीत गरेका छौँ ।
ती ७७ वर्षहरु, जसमा हामीले प्रत्येक दिन देशका निम्ति खर्चेका छौँ । जनताका निम्ति सुम्पेका छौँ ।
देशको सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रहित र स्वाभिमानका लागि हरपल अर्पेका छौँ । जनताका अधिकार, न्याय र सुख एवं समृद्धिका लागि समर्पित गरेका छौँ ।
नेकपा (एमाले)जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौं । र, यो एघारौँ महाधिवेशन यस महान् अभियानरुपी यात्रामा एउटा नयाँ मोडको रुपमा भव्यताका साथ आयोजना गरिरहेका छौं । हाम्रा नीतिहरु स्पष्ट छन् । यी नीतिहरु कार्यान्वयन गर्ने सुदृढ, व्यापक र दृढ संकल्पित लोकप्रिय पार्टी र संगठन हामीसँग छ ।
म हाम्रो पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत ती सबै अग्रजहरु, शहीदहरु, योद्धाहरु र आन्दोलनमा वर्णन नै गर्न नसकिने कष्ट सहनु हुने न्यायप्रेमी जनसमुदायप्रति हार्दिक श्रद्धा अर्पण गर्न चाहन्छु, जसको बलिदान बिना हामी यहाँ आइपुग्नै सक्दैनथ्यौँ ।
तपाईँहरुलाई साक्षी राखेर सङ्कल्प गर्छु– हामी उहाँहरुको आदर्श र बलिदानलाई कहिल्यै बिर्सने छैनौँ ।
यति लामो यात्रामा हामीले कहिल्यै गल्ती गरेनौँ या हामीबाट कमजोरी रहेन भन्ने होइन, तर हाम्रो निष्ठा, समर्पण र इमानप्रति हामीलाई गौरव छ ।
कम्युनिष्ट पार्टीको यही बलिदानी सङ्घर्षका बलमा आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएको छ ।
सात सालको क्रान्तिमा कम्युनिष्ट पार्टी भर्खरै स्थापना भएको थियो । यसको नेतृत्वदायी भूमिका नहुँदा क्रान्ति अधुरो रह्यो ।
२०४६ सालमा कम्युनिष्ट पार्टी सबल र संयुक्त नेतृत्व गर्ने ठाउँमा विकसित भएको थियो, आन्दोलनले राजाको निरङ्कुशता र पञ्चायती तानाशाहीलाई अन्त्य गर्यो ।
२०६२/०६३ मा कम्युनिष्ट पार्टी नेतृत्वदायी भूमिकामा रह्यो, तसर्थ राजतन्त्र अन्त्य भयो, गणतन्त्र स्थापना भयो र जनताको हातले संविधान लेखियो । त्यतिबेला अरु पार्टीहरुका भूमिका तपार्इँहरुको सम्झनामा ताजै छन् ।
त्यसैले भन्न सक्छौँ– कम्युनिष्ट पार्टी जति जति बलियो हुन्छ, त्यति त्यति लोकतन्त्रले पूर्णता पाउँछ । राष्ट्रिय स्वाभिमान सुदृढ हुन्छ । समृद्धिको यात्रा अगाडि बढ्छ ।
आज हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्न अगाडि बढ्न चाहन्छौँ ।
कमरेडहरु, दाजुभाइ दिदीबहिनीहरु,
आठ दशकको यस गौरवशाली यात्रामा हामीले केही बिरासतहरु, केही मानकहरु, केही पहिचानहरु बनाएका छौँ ।
नेकपा (एमाले) अर्थात् राष्ट्रियताको पहरेदार, देशभक्तिपूर्ण आन्दोलनको नायक ।
नेकपा (एमाले) अर्थात् लोकतान्त्रिक आन्दोलनको अग्रपङ्क्तिको योद्धा, यसको अभेद्य किल्ला ।
नेकपा (एमाले) अर्थात् सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’, जसका कारण आज ३८ लाख नागरिकहरुले जीवनमा एउटा सहारा पाउनु भएको छ ।
नेकपा (एमाले) अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संबाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ ।
नेकपा (एमाले) अर्थात् समावेशिताको अगुवा, जसले राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ महिला सहभागिता सहित दलित, अल्पसङ्ख्यक र पछाडि पारिएका समुदाय, क्षेत्र र वर्गलाई मूलधारमा ल्याउन अग्रणी भूमिका खेलेको छ ।
नेकपा (एमाले) अर्थात् नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियन्ता, जनताको बहुदलीय जनवाद जस्तो नवीनतम सोचको संवाहक र परिपूर्ण लोकतन्त्रको भाष्यकार ।
नेकपा (एमाले) अर्थात् गाउँमुखी र जनसहभागितामूलक विकासको अग्रणी, ठूला पूर्वाधार निर्माणको पहलकर्ता, भूकम्पपछिको पुनर्निर्माणको सफल अभियन्ता ।
नेकपा (एमाले) अर्थात् मानवतावाद, न्याय, संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त र हामी पक्ष भएका अन्य अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुको पालना र विश्व शान्तिमा आधारित विदेश नीति रहेको पार्टी ।
नेकपा (एमाले) अर्थात् असल, विश्वसनीय छिमेक सम्बन्ध र पारस्परिक हित र सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने पार्टी ।
नेकपा (एमाले) अर्थात् समृद्धिको स्वप्नद्रष्टा र परिकल्पनाकार, जसले भन्छ– प्रकृतिको यति सुन्दर बरदान पाएको र संस्कृतिको धनी नेपाल गरिब रहनै सक्दैन, हामी आफ्नै पौरख र बलमा समृद्ध बनाइ छाड्छौँ ।
आजको अन्तरनिर्भरताको समयमा पनि हामी सकेसम्म आत्मनिर्भर अर्थतन्त्रको पक्षमा छौं । यसका निम्ति कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण, अर्थतन्त्रको औधोगिकरण र आधुनिकीकरण, आर्थिक उन्नतिका लागि पूर्वाधारको विकास, विकासका लागि प्रविधिको नवीन प्रयोग– हाम्रा नीति हुन् ।
हामी सपना मात्रै देख्दैनौँ, सपना मात्रै बाँड्दैनौँ– प्रत्येक दिन यस यात्रामा एक पाइला अघि बढ्छौँ । हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका निम्ति भएका कामले स्पष्ट पार्छन् ।
बिरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ– एमालेको पहिचानको त्यो सूची तपाईँहरुको मनभित्रै कुँदिएको छ, तब त सबै वाधा छिचोलेर तपाईँहरु यहाँ आउनु भएको छ ।
यिनै बिरासतले गर्दा आज पनि यो पार्टी जनताको मन मनमा छ, मुटु मुटुमा छ ।
हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं । त्यसैकारण हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति, सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनु पर्दछ । राजनीति, मानव र मानव संशाधनको विकास र खुशहालीसँग सम्बन्धित हुनु पर्दछ । हाम्रो राजनीति हाम्रा लागि मात्रै होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रुपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनु पर्दछ–‘बसुधैव कुटम्बकम् ।’
तर हामी माथिका प्रहार पनि कम्ती छैनन् ।
हामी भन्छौँ– देशहरु भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ?
प्रहार हुन्छ ।
हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौँ ।
प्रहार हुन्छ ।
हामी हिंसा या युद्ध समाज परिवर्तनको साधन हुन सक्दैन भन्छौँ, जनताको मन जितेर शान्तिपूर्ण ढङ्गले पनि समाज बदल्न सकिन्छ भन्छौँ ।
हामीमाथि प्रहार हुन्छ ।
हामी विविधता र बहुलता हाम्रो सम्पदा हो, दूरी बढाउने विषय होइन भन्छौँ ।
हामीमाथि प्रहार हुन्छ ।
हामी सार्वभौम मुलुकका रुपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन ।
अनि हामीमाथि प्रहार हुन्छ ।
हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौँ । सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्प जस्ता चुनौतीका बीचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ । कमजोरीलाई पनि महसुस गर्छौँ । मुलुक बन्छ र बन्दैछ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरुलाई यो मन पर्दैन ।
अनि फेरि हामीमाथि प्रहार हुन्छ ।
हामी कमजोर भयौँ भनेमात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन् ।
हामी नढलुन्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सीधै रहन्छ । त्यसैले हामीमाथि आक्रमण भइरहेको छ ।
हामीविरुद्धका शक्तिहरू विभिन्न रङ्गमा अगाडि आउँछन्—
कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर । कलर/कलरमा– कलर रेभोलुशन भन्दै देखा पर्छन् ।
तर तिनको भित्री लक्ष्य एउटै छ— हामीलाई विभाजन गर्ने, कमजोर बनाउने, अलमल्याउने र दिशाहीन बनाउने ।
एकपटक सम्झनुस् त !
हामीले संविधान जारी गर्यौं, त्यसपछिको तीब्र प्रतिक्रियाले भन्छ–– हामीले लिएको अडान कतिलाई मन परेको थिएन ।
भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैँ हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन ।
सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन ।
यही कारणले, बारम्बार हाम्रो पार्टी प्रहारको निशानामा परेको छ ।
आखिर खयरको बोटमा कसले ढुङ्गा हान्छ र ? ढुङ्गाको चोट खाने त बाटो छेउको आँपको बोटले त हो नि ।
दाजुभाइ दिदीबहिनीहरु,
यति धेरै प्रहार सहेपछि पनि यो पार्टी सतिसालझैँ ठिङ्ग कसरी उभिरहन्छ ? यति धेरै शक्ति कहाँबाट आउँछ ?
यस प्रश्नको उत्तर म यही मैदानमै खोज्न चाहन्छु ।
एकछिन्— आफ्नै गाउँ/ ठाँउमा, सहरका टोल/ टोलमा, टारीको छेउमा, ओडारको चिसोमा बसेर संगठन जोगाइरहेका आफ्नै साथीहरू सम्झनुस् त ! त्यसपछि आफैँ महसुस गर्नुहुनेछ— संकटको बेलामा ढल्ने होइन, अड्ने साहस यस पार्टीले यत्तिका वर्ष कहाँबाट बटुलेको रहेछ ?
भदौ २३/२४ को घटनालाई सम्झौँ न ।
भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो ? कि त्यसको आडमा अर्को ठूलो खेल चलिरहेको थियो ?
त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थियो ? कि त्यसभित्र राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ?
भ्रममा पर्नै हुन्न– स्थिरताको बाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो । तर यो त संविधान, संवैधानिक प्रक्रिया र ७ दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्याउने दीर्घ तयारीसहितको गम्भीर षडयन्त्र थियो ।
तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौँ—
सामाजिक सञ्जाल खुल्ला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस् —जेनेरेशन–जेड या नवयुवाहरुले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन ।
यी त हामी स्वयंले वर्षौँदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेन्डा थिए ।
सामाजिक सञ्जाल बन्द गर्ने होइन— कानुनी दायराभित्र, देश र नागरिकको सुरक्षाको हिसाबले नियमन गर्ने मात्रै हाम्रो चाहना थियो ।
नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने बचन दिएका थिए । प्रशासनले अनुमति पनि दिएकै थियो ।
तर दु:खको कुरा—
त्यो कार्यक्रममा घुसपैठ भयो ।
विभिन्न स्वार्थ समूह प्रवेश गरे ।
अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरुलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद भवनमा आगजनी र तोडफोड गर्न दुरुत्साहन गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा—विद्यार्थीहरुको ज्यान जाने दु:खद् एवम् अकल्पनीय परिस्थिति सिर्जना भयो ।
भदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा,
भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक—सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
घाइते युवाहरू, परिवारका सदस्यहरू, पीडित बुबाआमा, दिदीबहिनी, दाजुभाइ, सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछु— शरीर र मन दुवैको चोट चाँडै निको होस् भन्ने कामना गर्दछु ।
साथीहरू,
भदौ २३ गते शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक हुँदा सिर्जित दु:खद् परिणामप्रति गम्भीर हुँदै, तत्कालीन गृहमन्त्रीले राजीनामा गरिसक्नुभएको थियो । त्यसै दिनको मन्त्रिपरिषद्को बैठकबाट घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय पनि भइसकेको थियो ।
असामान्य परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील थियो ।
तर राज्यविरुद्ध आक्रमणको योजना बनाएका तत्वहरुलाई यी कदम पर्याप्त भएनन् । उनीहरुलाई त देश दहन गर्ने अगुल्टो चाहिएको थियो ।
परिणामत: भदौ २४ को भयानक दिन देशले भोग्नुपर्यो ।
कार्यपालिकाका वडा कार्यालयदेखि केन्द्रीय प्रशासनिक भवनसम्म,
व्यवस्थापिकाका पालिकादेखि संघीय संसद भवनसम्म,
र न्यायपालिकाका जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म—
राज्यका तीनवटै अंगमाथि एकैसाथ आक्रमण गरियो ।
दलीय व्यवस्थाका आधारस्तम्भ पार्टीका कार्यालयहरू ध्वस्त पारिए ।
होटल, व्यापारिक प्रतिष्ठान र व्यवसायिक व्यक्तिहरुका निजी सम्पत्ति ध्वस्त पार्दै अर्थतन्त्रको मेरुदण्ड भाँचियो ।
शान्ति–सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि भयानक प्रहार भयो— कुटपिट मात्रै होइन, निर्ममतापूर्वक हत्या समेत गरियो ।
१२ सयभन्दा बढी हतियार खोसिए, झन्डै एक लाख गोलीगठ्ठा र विविध सामग्री लुटिए । सुरक्षाकर्मीका पोशाक मात्र लुटिएनन्, तिनको अपमान र दुरुपयोग समेत गरियो ।
जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए ।
नेता/कार्यकर्ताहरूका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो ।
यसरी, राष्ट्रपति भवनदेखि सिंहदरबार जस्ता राष्ट्रिय सम्पदाहरू–
शहीदका सालिक, लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवन समेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निशाना बने ।
यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भए ।
त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन्;
ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खल्बल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए ।
जतिबेला, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै “आन्दोलन”, “बिद्रोह” र “क्रान्ति”का रूपमा महिमामण्डित गरिँदै थियो,
त्यही भिडको फुटेज देखाएर— कोही सत्ता, कोही सौदा, र कोही सहानुभूति बटुल्दै थिए ।
त्यतिबेला एमाले मात्रै यस्तो पार्टी रह्यो जसले सुरुदेखि नै स्पष्ट भन्यो— यो हाम्रो व्यवस्थामाथिको आक्रमण हो, यो देशमाथिको प्रहार हो ।
साथीहरू,
राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौं । नेताहरू, समाजका अगुवाहरू मारियून्, समाप्त होउन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ— “हेलिकप्टर चढेर भागे” ।
महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नुपर्यो ।
इतिहासले दोष कसलाई दियो— आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ?
प्रश्न त्यत्ति न हो !
त्यो महाविनाश— न हामीले विर्सेका छौँ, न विर्सनेछौँ ।
दोहर्याएरै भन्छु–– … नर्बिसौं !!!
अहिलेलाई यत्ति मात्र—
त्यस दिनको महाविनाशको छानबिन होस्,
दोषी पहिचान होस्,
अपराधीले सजाय पाउँन् !
साथीहरू,
त्यो असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ ।
देश अन्योलमा थियो । त्यो अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू स्पष्ट राख्यौँ ।
यदि संसदभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबीच सहमति हुनुपर्छ— संसदमार्फत संविधान संशोधन गर्नुपर्छ ।
प्रतिनिधिसभा विघटन हुनुहुँदैन !
यही हाम्रो दृढ अडान थियो ।
कामचलाऊ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ ।
तर देशलाई उल्टो दिशामा लगियो— संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो ।
त्यसैले हामी भन्छौँ— अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ ।
जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीति बाहिर धकेल्नु हो ।
यस्तो कामले लोकतन्त्र बलियो हुँदैन ।
त्यसैले— प्रतिनिधिसभा विघटन मान्य छैन ।
हाम्रो माग स्पष्ट छ— प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् ।
सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ ।
चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ?
अहँ देखिँदैन !
चुनाव चाहने सरकार के गर्थ्यो ?
सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गर्थ्यो ।
दलका गतिविधि प्रोत्साहित गर्थ्यो ।
चुनावको अनिवार्य शर्तका रुपमा रहेको निर्भयताको वातावरण निर्माण गर्थ्यो ।
तर अहिले के भइरहेको छ ?
संवादको सट्टा निषेध,
बहसको सट्टा मुद्दा,
प्रतिस्पर्धाको सट्टा धम्की,
नेताको राहदानी रद्द र स्थान– हद … निषेधाज्ञा !
यसरी चुनावको वातावरण बन्छ कि डरको ?
मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ?
जनताले चाहेको कुरा स्पष्ट छ—
साँचो प्रतिस्पर्धा,
स्वतन्त्र चुनाव र
निष्पक्ष वातावरण !
हाम्रो पनि भनाइ यही हो—
डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?
तर अहिले कहाँ चुनाव हुँदैछ र ?!
चुनावको कुरा मात्र भइरहेको छ !
त्यसैले हाम्रो अडान छ– प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।
म उपस्थित सबै दलका नेता गणलाई पनि लोकतन्त्रमाथिको यो प्रहार, संविधानमाथिको यो आघात र राष्ट्रमाथिकै यस सङ्कटलाई बोध गरेर, यसबाट रत्तिभर विचलित नभइ सहकार्यका साथ अगाडि बढ्न आह्वान गर्छु ।
प्रिय युवा साथीहरु,
अहिले केही व्यक्तिहरु नेकपा (एमाले) र प्रतिष्ठित राजनीतिक दलहरुलाई ‘जेन्जी विरोधी’ आरोपित गर्दै तपार्इँहरु र हामीलाई भिन्न धारमा उभ्याउन कोशिस गरिरहेका छन् ।
उनीहरुको यस्तो प्रयास नौलो होइन ।
३० वर्ष अगाडिसम्म हामीलाई बृद्धबृद्धा विरोधी पार्टी भनेर आरोपित गरिन्थ्यो ।
हामीले व्यवहारबाटै खण्डित गर्यौँ ।
सशस्त्र हिंसा सुरु भएपछि हामीलाई क्रान्ति विरोधी भनेर आरोपित गरियो । हामीले त्यस आरोपको मिथ्यापनलाई पनि तथ्यहरुबाटै पुष्टि गर्यौँ ।
एक अवस्था आयो– हामीलाई पहिचान विरोधी, मधेस विरोधी, जनजाति विरोधी बिल्ला भिराउने कोशिस भयो ।
हामीले व्यवहारबाट त्यस भाष्यलाई चिर्यौँ, आज नेकपा (एमाले) मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दलका रुपमा स्थापित छ । हाम्रो पार्टी साम्प्रदायिक विद्वेषमा होइन, विविधताबीच राष्ट्रिय एकताको पक्षमा छ ।
सबै हतियारमा खिया लागेपछि हामीलाई आज जेन्जी विरोधी भनेर भ्रमित गर्ने कोशिस गरिरहेको छ ।
तर यो भ्रम निराधार छ ।
जुन पार्टीले आफ्ना सबै पार्टी संरचनामा नयाँ युवालाई स्थापित गर्न विशेष व्यवस्था नै गरेको छ, त्यो पार्टी कसरी नयाँ पुस्ता विरोधी हुन सक्छ ?
जसले सरकारमा हुँदा उद्यमशीलता सिकेर केही गर्न चाहने युवाको आँखाका आशालाई हेरेर सीप विकास कार्यक्रम विस्तार गर्यो, उत्पादन र बजार जोड्ने व्यवस्था मिलायो, स्टार्टअप कार्यक्रम अघि बढायो । त्यो कसरी जेन्जी भन्दा टाढा हुन सक्छ ?
जसले सरकारमा हुँदा डिजिटल नेपाल फ्रेमवर्क र एआई नीतिलाई प्राथमिकतामा राख्यो– कसरी तपार्इँहरु भन्दा फरक हुन सक्छ ?
हामी चाहन्छाँै–
नेपाली युवाले प्रविधि हातमा लिएर यहीँ बसेरै विश्वसँग प्रतिस्पर्धा गर्न सकोस् ।
नयाँ रोजगारी सिर्जना होस्,
नवप्रवर्तन जन्मियोस्, नयाँ अवसरको ढोका खुलोस् ।
त्यसैले जेन्जीका नाममा स्वार्थको रोटी सेकिरहेका तत्वहरुले फिंजाएको भ्रमबाट मुक्त हुन म साथीहरुलाई आग्रह गर्दछु ।
म हाम्रा युवाहरूलाई यो पनि स्मरण गराउन चाहन्छु —
प्रविधि जति अगाडि बढे पनि, तपाईंहरूको सुरक्षित भोलि —
लोकतन्त्र, संविधान, शान्ति र राजनीतिक स्थायित्वमाथि नै निर्भर छ ।
यसका लागि दलहरु अनिवार्य पक्षहरु हुन् । कुनै दल मन नपर्न सक्छ, अर्कोमा जोडिन सकिन्छ । या आफैँ दल खोल्न पनि सकिन्छ । तर विचारका आधारमा स्थापना भएका, लामो इतिहास भएका र आन्दोलनको अग्निपरीक्षामा खारिएका दलहरुलाई कमजोर गरेर देश बन्दैन ।
विचार बिनाका दल र उत्तरदायित्व बिनाका पात्रहरुले अन्ततोगत्वा मुलुकलाई सङ्कटको भुँवरीमा होम्छन् ।
प्रिय कमरेडहरु, साथीहरु,
हाम्रो महाधिवेशन लोकतान्त्रिक अभ्यास, वैचारिक गन्तव्यप्रतिको स्पष्टता र एकताको एउटा उदाहरणको रुपमा आयोजना भइरहेको छ । यस्तो परिस्थितिमा हामी हरेकले गहिरो जिम्मेवारी बोधका साथ पार्टीलाई कुनै प्रकारको क्षति हुन नदिनु र उन्नत एकता कायम गर्नु जरुरी छ ।
यसमा सबैको ध्यान जानेछ भन्ने मैले विश्वास लिएको छु ।
अर्को कुरा, हामी कसैको कुनै पनि कार्यक्रम बिथोल्ने, बाधा व्यवधान पुर्याउने काम गर्दैनौं । कसैले पनि अरुका कार्यक्रममा व्यवधान उत्पन्न गर्नु सभ्य र लोकतान्त्रिक आचरण होइन । मैले विश्वास लिएको छु,–एमालेका कार्यक्रमहरु बिथोल्न कसैले पनि प्रयास गर्ने छैन ।
म नेपालका सम्पूर्ण राजनीतिक दलहरु, अन्य संघसंस्थाहरु, नागरिक समाज, मिडिया र आम जनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु ।
साथीहरुलाई स्पष्ट हुन म आग्रह गर्छु ।
आजको हाम्रो सङ्घर्ष– जेन्जी पुस्ता र पाको पुस्ता बीचको हुँदै होइन ।
पुराना दल र नयाँ पुस्ता बीचको पनि हुँदै होइन ।
सङ्घर्षको केन्द्रबिन्दु त देश बनाउने र देश जलाउने बीचको हो ।
मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैंभरि देश बनाउने कित्तामा उभिने छ ।
निश्चय नै, तपाईँहरुको अपेक्षा र राज्यको डेलिभरी क्षमता बीचमा ग्याप छ ।
तपाईँहरु प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरुको भीड र कर्मचारीहरुको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस् ।
अवसरहरु सबैका लागि बराबर होउन् ।
आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस् । योग्यताका आधारमा छनोट होस् ।
तपार्इँहरुका अपेक्षा बिल्कुल जायज छन् ।
यस दिशामा केही उपलव्धि पनि भएका छन् ।
तर थुपै्र काम गर्न बाँकी छ ।
तर ती बाँकी काम देखेर या अन्याय देखेर आक्रोशित हुनु स्वाभाविकै हो ।
तर त्यो आक्रोश रचनात्मक ढङ्गले प्रयोग हुनुपर्छ, जसरी पहाडबाट बगिरहेको खोला बाँधमा बाँधिएर, पेनस्ट्रक पाइपमा छिरेर, टर्बाइनमा पुग्दा ऊर्जाको उज्यालोमा रुपान्तरित हुन्छ ।
नत्र त त्यसले बाढी बनेर बस्ती बगाउँछ, विपत्ति सिर्जना गर्छ ।
तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंशको इन्धन बनाउन खोज्नेहरुबाट जोगिनुहोस् ।
तपाईंहरूका जायज आवाजको आडमा देशको विरुद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस् ।
देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनुहोस् ।
म युवा पुस्तालाई भन्न चाहन्छु —
असहमति राख्नुस्,
आलोचना गर्नुस्,
जवाफ माग्नुस् ।
तर एउटा कुरा नबिर्सनुस्—
आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने,
सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन ।
यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु—
जहाँ सकिन्छ त्यहाँ, युवालाई अगाडि सारौँ;
उनीहरूको कुरा ध्यान दिएर सुनौँ;
उनीहरूको जायज एजेन्डालाई उचित स्थान दिऔँ ।
युवा पुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन—
यसको आधार छ—
सिद्धान्तमा दृढ, अनुशासन र आपसी एकता भएको पार्टी ।
साथीहरू,
आज हामी सबैभन्दा बढी के कुराको अभाव महसुस गरिरहेका छौँ ?
उत्तर हो— सुरक्षा ।
सुरक्षा – राज्यले प्रत्येक नागरिकलाई दिनै पर्ने प्रशासनिक सुरक्षा त हुँदै हो,
त्यसका अतिरिक्त–
युवालाई– रोजगारीको सुरक्षा,
आमाबाबुलाई– छोराछोरी विदेशिन नपर्ने भविष्यको सुरक्षा,
श्रमजीवी जनतालाई– पारिश्रमिकको सुरक्षा,
किसानलाई– पसिनाको मूल्यको सुरक्षा,
उद्योगी/व्यापारीलाई– नीति, स्थिरता र लगानीको सुरक्षा,
विद्यार्थीलाई– सपनाको सुरक्षा,
आम नागरिकलाई– न्यायको सुरक्षा ।
भाषा, पहिरन, धर्म, आस्था, जात–जातिको गौरव— सबैको पहिचानको सुरक्षा ।
संविधान, लोकतन्त्र, अदालत, संसद, संस्थाहरू— सबको अस्तित्वको सुरक्षा ।
त्यसैले हामी भन्छौँ—
हाम्रो राजनीति केवल सत्ता बदल्ने राजनीति होइन—
जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति हो ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यको सुरक्षा हो ।
अर्को शब्दमा– सुरक्षा, समृद्धि र सुखको सुनिश्चितता हो ।
जहाँ नागरिकको ज्यान, अधिकार, सम्मान, देशको अस्तित्व र भविष्य सुरक्षित होस् ।
प्रिय कमरेडहरु, साथीहरु,
यस जटिल परिस्थितिमा अनेक चुनौतीहरुको सामना गर्दै आफ्नो गन्तव्यतर्फ दृढता र सक्रियताका साथ अगाडि बढौं । अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं ।
वर्तमान असंवैधानिक सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको छ । त्यसका लागि एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरुको जालो पनि बुनिरहेको छ । यस स्थितिलाई तोडेर संविधानलाई पुन: लिकमा फर्काउनु छ, जहाँ नेपाल सुरक्षित होओस् ।
साथीहरू,
सुरक्षित नेपालको पहिलो सर्त के हो ?
हामी–हामीबीचको एकता— एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु ।
हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक “एघार”लाई एकछिन् ध्यान दिएर हेरौँ—
एघारमा दुई वटा “एक” हुन्छन्,
तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका “एक” होइनन् ।
एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका “एक” हुन् ।
त्यसैले, हामी प्रत्येक एक— एमालेले अर्को एक— एमालेसँग हात मिलाउँदा,
छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै “एघार” बन्छौँ, बलियो शक्ति बन्छौँ ।
एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात–प्रतिघात गरे—
हामी साधारण “एक–एक, एक” मात्र रहनेछौँ ।
तर एउटाले अर्कोको हात समायो, मन मिलायो—
हामी “एक–एक एघार” बन्छौँ ।
हामी एघार बन्दै अघि बढ्यौँ भने—
यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ ।
सबैलाई शुभकामना !
धन्यवाद !




प्रतिक्रिया