एमाले महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्रअघि केन्द्रीय कमिटीको बैठक बस्दै


काठमाडौं, मंसिर २८ । नेकपा (एमाले)को ११औँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र शुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा संचालन हुन लागेको बन्दसत्रमा देशभरबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुले मात्र भाग लिँदैछन् ।

बन्दसत्रअघि भृकुटीमण्डपमै अहिले बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी रहेका छन् । जसमध्ये १०८ प्रतिनिधि सचिवालयले मनोनित गरेको छ ।

बन्दसत्र संचालनक लागि सबै पदाधिकारीको अध्यक्ष मण्डल गठन गरिएको छ । त्यस्तै बन्दसत्रबाट पारित गर्ने प्रस्तावको संयोजन गर्न उपमहासचिव प्रदिव ज्ञवालीको संयोजकत्वमा कमिटी बनाइएको छ भने बन्दसत्रको माइन्यूटिङ गर्नका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरिएको छ ।

भोलीसम्म संचालन हुने यस महाधिवेशनले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने छ । एमालेको विधानले एक अध्यक्ष, ३ उपध्याक्ष एक महासचिव ३ उपमहासचित र ७ सचिवको व्यवस्था गरेको छ। नेतृत्व चयनमा अध्यक्षमा केपी शर्मा ओलीले पुनः अध्यक्षमा दाबी गरेका छन भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिने घोषणा गरेका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।