काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) की केन्द्रीय सदस्य सुनिता बरालले पार्टीको ११औं महाधिवेशन उद्घाटन समारोहमा लाखौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको उपस्थिति भएको बताएकी छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले शनिबार काठमाडौं उपत्यका र छिमेकी जिल्लाहरु एमालेमय बनेको बताईन् । उनले सबैभन्दा खुल्ला चौर पनि एमालेको महाधिवेशनको क्रममा साँघुरो बनेको बताईन् ।
साथै, फरक प्रसंगमा उनले राजनीतिक दलको उपस्थिति र शान्ति सुरक्षाको प्रत्याभूतिविना निर्वाचन सम्भव नरहेको बताईन् । निर्वाचन आजको आवश्यकता हो भन्ने कुरामा एमाले सहमत रहेको, निर्वाचन भएको खण्डमा एमाले निर्वाचनमा जाने उनले बताईन् । आजको अवस्थामा राजनीतिक दल र दलका नेताहरुलाई रोक लगाएर, हातहतियार र कैदीबन्दीहरुलाई बाहिर राखेर निर्वाचन हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त नरहेको उनले बताईन् । उनले वर्तमान सरकार असंवैधानिक रहेको र यसको जवाफदेहिता पनि कमजोर रहेको बताईन् ।
‘यो सरकार प्रक्रियागत रुपमा पनि असंवैधानिक छ । आज जे काम गरिरहेको छ, यसले जवाफदेहिता कमजोर बनाइरहेको छ । त्यसो हुँदा प्रतिनिधिसभा पुनर्स्थापना गरेर, जनपक्षीय सरकार निर्माण गरेर निर्वाचनको वातावरण निर्माण गर्नुपर्छ । अन्यथा देशलाई अल्मल्याउने काममात्रै हुन्छ । निर्वाचन भएको खण्डमा एमालेले भाग लिन्छ । आजको वस्तुस्थितिलाई हेर्दा निर्वाचन हुने सम्भावना कम छ,’– उनले भनिन् ।
निर्वाचन आजको आवश्यकता रहेको र त्यसको लागि सहज वातावरण निर्माण गर्न सर्वपक्षीय सरकार आवश्यक रहेको उनको भनाइ छ । सरकारमा रहेका जिम्मेवार व्यक्तिहरुले शान्ति सुरक्षाको वातावरण बनाउन नसकिराखेको, जवाफदेहिता नरहेको बताउँदै उनले सबैको सहभागितामा अपनत्व हुनेगरी सर्वपक्षीय सरकारको आवश्यकता औंल्याईन् । उनले आफूहरु न्यायलयप्रतिको विश्वासमा मुद्दा लिएर अदालत गएको र त्यहाँबाट आएको निर्णयलाई उच्च सम्मान गरेर आफूहरु अगाडि बढ्ने बताईन् । एमालेको मुख्य सरोकार र चिन्ताको विषय देश र जनता रहेको उनले बताईन् ।
एमालेले आफ्नो केन्द्रीय कमिटीको बैठकबाट नै संसद् पुनर्स्थापनामा जाने निर्णय गरेको उनले बताईन् । उनले जेन–जीको माग सम्बोधन गर्ने एमालेको विषय रहेको र यो विषयमा सबैभन्दा बढी चासो र चिन्ता एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको बताईन् । एमालेका नेताहरु सबै ठाउँमा गएर निर्वाचनको प्रचारप्रसार र अपिल गर्ने कुराको वातावरण निर्माण सरकारले गर्नुपर्ने उनले बताईन् ।
साथै, उनले गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ गतेको घटना छानविन गर्न बनेको आयोगले निष्पक्ष छानविन गर्न नसक्ने दाबी गरिन् । आयोगका अध्यक्ष कार्कीले निष्पक्ष काम गर्न सक्दैनन् भन्ने एमालेको बुझाइ रहेको उनले बताईन् ।




प्रतिक्रिया