उमेरहदका कारण शाक्य र ज्ञवाली प्रतिस्पर्धाबाट बाहिरिए, नैतिक दवाबमा ओली


काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको ११औं महाधिवेशनको कुनै पदमा पनि प्रतिस्पर्धा नगर्ने बताएकी छन् । आज (आइतबार) भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले पार्टीको ११औं महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवार नबन्ने बताएकी हुन् । उपाध्यक्ष शाक्यले आफू ७० वर्ष पुगिसकेकाले अब उमेरहदको कारण कुनै पदमा पनि प्रतिस्पर्धा नगर्ने बताईन् । ‘म यो ११ औं महाधिवेशन लड्दिनँ । कुनै पनि उम्मेदवार हुन्न,’ उनले भनिन् ।

उपाध्यक्ष शाक्यले पार्टीलाई विधि र विधानसम्मत तवरबाट सञ्चालन गरिनुपर्ने बताईन् । एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि आफू ७० वर्ष पुगिसकेकाले अब कुनै पदमा प्रतिस्पर्धा नगर्ने बताइसकेका छन् । उपाध्यक्षद्वय शाक्य र ज्ञवाली दुवै ७० वर्षे उमेरहदका कारण प्रतिस्पर्धाको रिङबाट बाहिरिएका हुन् ।

उपाध्यक्षद्वय शाक्य र ज्ञवाली ७० वर्षे उमेरहदको कारण प्रतिस्पर्धाको रिङबाट बाहिरिँदै गर्दा यता ७२ वर्षीय केपी शर्मा अ‍ोली भने तेस्रो पटक अध्यक्षमा दोहोरिने तयारीमा छन् । उपाध्यक्षद्वय उमेर हदको कारण प्रतिस्पर्धाबाट बाहिरिएपछि अध्यक्ष ओली नैतिक दवाबमा परेका छन् ।