एमाले महाधिवेशनः तीन महिनाअघिमात्रै पारित भएको विधान भागबण्डा नमिलेपछि संशोधन


काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय समितिको अन्तिम बैठकले गत भदौमा सम्पन्न भएको विधान महाधिवेशनले पारित गरेको विधानमा संशोधन गरेको छ । गत भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या घटाएर १५ बनाउने निर्णय पारित गरेको थियो । जारी ११औं महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या देखिने भएपछि तीन महिनाअघिमात्रै पारित विधान संशोधन गरिएको हो ।

एमालेको ११औं महाधिवेशनको उद्घाटन सत्र हिजो (शनिबार) भक्तपुरको सल्लाघारीमा भएको थियो । अहिले एमालेको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भइसकेको छ । बन्दसत्र सुरु हुनुअघि बसेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकले विधान महाधिवेशनले तीन महिना अगाडि (गत भदौंमा) संशोधन पारित गरेको विधान संशोधन गर्ने निर्णय गरेको हो ।

१०औं महाधिवेशनमा पनि एमालेको पदाधिकारी संख्या १९ जना नै रहेको थियो । अहिले पदहरुमा केही हेरफेर गरिएको छ भने संख्या १९ नै पुर्याइएको छ । एमालेको ११औं महाधिवेशनबाट अध्यक्ष– १, उपाध्यक्ष–५, महासचिव–१, उपमहासचिव–३ र सचिव– ९ गरी कूल १९ पदाधिकारी निर्वाचित हुनेछन् ।