विधान संशोधनप्रति उपाध्यक्ष पाण्डेको आपत्तिः ओलीको मनपरीतन्त्रविरुद्ध लडाइँ जारी राख्ने


काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का उपाध्क्ष एवं पूर्व मन्त्री सुरेन्द्र पाण्डेले विधान संशोधन गर्ने केन्द्रीय कमिटीको निर्णयप्रति आपत्ति जनाएका छन् । आज (आइतबार) बसेको एमालेको केन्द्रीय समिति बैठकले तीन महिनाअघि (गत भदौमा) सम्पन्न विधान महाधिवेशनले पारित गरेको विधान संशोधनको लागि महाधिवेशनको हलमा पेश गर्ने प्रस्ताव पारित गरेको थियो ।

उक्त प्रस्तावप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष पाण्डेले महाधिवेशनेको बेला दायाँबायाँ गर्ने हो भने विधान महाधिवेशनको औचित्य नै नरहने बताएका छन् । उनले सरासर मनपरी भइरहेको बताए । पार्टी विधान, विधि र प्रक्रियाअनुसार चल्नुपर्ने उल्लेख गर्दै उनले मनपरीतन्त्रको विरुद्धमा लडाइँ जारी रहेको पनि बताएका छन् ।

‘के हाम्रा विधानहरू अस्थायी हुन् र ? हिजो विधान अधिवेशन अगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने । यो सरासर मनपरी होइन भने के हो ? अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ। यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रियाअनुसार चल्नु अनिवार्य छ,’– उपाध्यक्ष पाण्डेले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

गत भदौमा सम्पन्न एमालेको विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी र केन्द्रीय कमिटी २५१ सदस्यीय रहनेगरी विधान पारित गरेको थियो । १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको आज बसेको बैठकले ३ महिनाअघिमात्रै पारित विधानमा संशोधनका लागि महाधिवेशनमा प्रस्ताव लाने निर्णय गरेको हो । अब एमालेको पदाधिकारीसंख्या १९ र केन्द्रीय समिति ३०१ सदस्यीय बन्ने भएको छ ।