फागुन २१ को निर्वाचन भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह


काठमाडौं, २८ मंसिर । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी बनाउन निरन्तर रचनात्मक सुझावसहित खबरदारी गर्नु रहेको बताएका छन् । उन्नाइसौँ संसद् सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत भदौ २४ गते जेनजी आन्दोलनकमा क्रममा भएका घटनाले राष्ट्रिय सम्पदा र देशलाई ठूलो नोक्सानी मात्र नभइ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा क्षतिबाट आहात भएको बताए ।

‘पुरानो संसद् भवन जलेको र नयाँ भवन बन्न अझै केही समय कुर्नुपर्ने अवस्था छ । यस विषम परिस्थितिमा राष्ट्रिय सभाको अबको सभा चलाउन कठिन भएको छ । त्यो अवस्था आउन हामी कति जिम्मेवार भयौँ ? हाम्रो भूमिका कस्तो रह्यो ? यी प्रश्नको जवाफ हाम्रा काम र व्यवहारबाट कसरी दिन्छौँ ? इतिहासले मूल्याङ्कन गर्नेछ,’– उनले भने ।

हाम्रो पक्षधरता संसद् सेवालाई सङ्घीय संसद्, लोकतन्त्र र जनताप्रति हो भन्दा भन्दै व्यवहार कस्ता भइरहेका छन् भनी प्रश्न गर्दै उनले भने, ‘कतै हाम्रा पक्षधरताहरू कुनै नेता, उच्च कर्मचारी र समूह वा स्वार्थबाट निर्देशित त छैनन ? यी र यस्तै सवालबारे गहन छलफल र समीक्षा गरी अगाडि बढ्नुपर्छ ।’

लोकतन्त्रको सुन्दर र मुख्य पक्ष निर्वाचन भएकाले त्यसमा जनचासो, जनविश्वास र भरोसा अडिएको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित गराउन सरकारलाई सहयोग गर्न आह्वान गरे ।