ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार, ओली पक्षमा रस्साकस्सी कायमै


काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत भोली पुस १ गते हुने निर्वाचनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै पक्ष पदाधिकारी टुंग्याउन आन्तरिक छलफलमा जुटेका छन्। संस्थापनइतर पक्षले महासचिवमा सुरेन्द्र पाण्डेलाई उमेदवार बनाउने टुंगो लगाएको छ। संस्थापनइतरबाट अध्यक्षमा ईश्वर पोखरेल उमेदवार हुनेछन् ।

महासचिवका आकांक्षी गोकर्ण विष्टलाई उपाध्यक्ष र योगेश भट्टराईलाई उपमहासचिव बनाउने सहमतिसँगै प्यानल अन्तिम चरणमा पुगेको छ। उपाध्यक्षमा गोकर्ण विष्टसहित परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल प्रतिस्पर्धामा छन् भने एक पदमा नाम टुंगिन बाँकी छ। उपमहासचिवमा योगेश भट्टराई उठ्नेछन्। सचिवमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे र इन्द्रलाल सापकोटामध्ये कसलाई दिने भन्नेबारे छलफल भइरहेको छ ।

इतर समूहले लगभग पदाधिकारीको सूची टुंग्याए पनि ओली पक्षले भने महासचिवको उम्मेदवार तय गर्न सकेको छैन् ।
ओली पक्षबाट महासचिवका उम्मेदवारमा शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको दाबी कायम छ। उम्मेदवारी दर्ता आज बेलुका हुँदैछ भने भोली मतदानको तालिका सार्वजनिक भइसकेको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन्। जारी महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने भएका छन् ।