सुनको मूल्यमा नयाँ कीर्तिमान, कति नाघ्यो?


काठमाडौं, मंसिर २९ । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमबार र हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा १९ सय रुपियाँले बढेर सोमबार प्रतितोला सुनको मूल्य दुई लाख ६० हजार सात सय पुगेको छ । आइतबार दुई हजार दुई सय रुपियाँले बढेर एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८ सय पुगेको थियो ।

यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबारको तुलनामा ४५ रुपियाँले बढेर प्रतितोला चाँदीको मूल्य तीन हजार ८ सय ७० कायम भएको महासंघले जनाएको छ । आइतबार एक तोला चाँदी तीन हजार ८ सय २५ रुपियाँमा बिक्री भएको थियो । पछिल्ला दिनहरुमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा पुगिरहेको छ । यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको हो ।

नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुका कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो । नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासङ्घलाई दिइएको छ । २०६६ साल अघि नेपालमा खुल्लारुपमा सुनको आयात गर्न पाइन्थ्यो । २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनाइएको थियो । त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्नसक्थे ।

राष्ट्र बैंकले दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ । आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ । हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ ।