काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले अरु राजनीतिक दललाई एमालेले नै आन्तरिक लोकतन्त्रको अभ्यास सिकाएको दाबी गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै एमालेभित्र आन्तरिक लोकतन्त्र कायमै रहेको बताएकी हुन् । उनले १०औं महाधिवेशनले पारित गरेको विधानबाटै २ कार्यकाल र ७० वर्षे उमेरहद हटाइएको बताईन् । पार्टी प्रवेशमा आएको सिनियर लिडरहरुको सम्बोधन गर्नका लागि उक्त व्यवस्था निलम्बन गरिएको र उक्त निलम्बनविरुद्ध एउटा सदस्यले पनि नोट अफ डिसेन्ट नलेखेको उनको भनाइ छ ।
उनले विधानलाई प्राविधिक कुरा रहेको बताउँदै महाधिवेशनमा फेर्न सकिने बताईन् । सचिव अर्यालले पार्टीलाई सुदृढ गर्न र अनुशासित बनाउन खोजिए पनि हिजो काम गरिरहेको मान्छेहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने अवस्था आएकाले पुरानै विधानलाई व्यूँताइएको बताईन् । उनले अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली आउनुलाई ‘समयको माग’ को संज्ञा दिईन् ।
साथै, उनले पार्टीको ११औं महाधिवेशनमा ओली र ईश्वर पोखरेलबीचको प्रतिस्पर्धालाई द्वन्द्व मान्न नसकिने बताईन् । ओलीबाट पोखरेलमा नेतृत्व जानुलाई नयाँ अनुहार मान्न नसकिने उनको भनाइ छ । उनले अहिले नेतृत्वको मनोविज्ञान ओलीमाथि नै रहेको उनको दाबी छ । यद्यपि पोखरेललाई अध्यक्ष हुन मन लाग्नुलाई पनि स्वभाविक मान्नुपर्ने उनले बताईन् । एमालेभित्र कुनै पनि विवाद र असन्तुष्टि नरहेको उनले बताईन् । पोखरेलले आफ्नो पदोन्नतिको चाहना प्रकट गर्नुलाई अनौठो मान्न नहुने उनको भनाइ छ ।
महाधिवेशन कार्यकर्ताको समर्थनको प्रयोग गर्ने थलो रहेको उनले बताईन् । ओलीले पुनः अध्यक्ष बन्न खोज्नुलाई अन्यथा मान्न नसकिने उनले बताईन् । अहिलेको सम्भावना केपी ओलीको नेतृत्व स्वीकार गरेर त्यही सबै अटेर जाने रहेको उनले बताईन् । ‘अहिले सम्भावना के छ भने केपी ओलीको नेतृत्व स्वीकार गरेर त्यहीँ सबै अटेर जाने सम्भावना छ । ओली हटेर ईश्वर पोखरेल आउने सम्भावना छैन । एमालेभित्र अध्यक्ष चलाउन सक्ने व्यक्ति थुप्रै हुनुहुन्छ । तर, आज जे परिस्थिति छ, पार्टीमात्रै चलाउने अध्यक्षले भएन नि त,’– उनले भनिन् ।




प्रतिक्रिया