काठमाडौं, २९ मंसिर । राजनीतिक विश्लेषक बद्रीविशाल पोखरेलले एमालेको राजनीतिमा केपी शर्मा ओलीको अराजनीति हाबी भएको टिप्पणी गरेका छन् । उनले ओलीले एमालेलाई रसातलमा पुर्याएको दाबी गरे । अहिले एमालेमा ओलीले जे बोल्यो त्यही नीति हुन्, उनले जे गर्छन् त्यही कार्यक्रम, कार्यनीति हुने, सिद्धान्त हुनेखालको अहंकारी प्रवृत्तिको विकास भएको बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विद्या भण्डारीजस्तो शालिन व्यक्तित्वलाई पनि ओलीले बारबार महिला अस्मितामाथि आक्रमण हुनेगरी व्यवहार गरेको बताए । ओलीले एमाले र जनताको बहुदलीय जनवादलाई खत्तम पारिसकेको, मदन भण्डारीलाई चारवटी स्वास्नीको पोइ भन्ने आरोप लगाएको भन्दै उनले आपत्ति जनाए ।
अहिले ओलीले मदन भण्डारी र जबजको ओठेभक्तिमात्रै गरेको उनको टिप्पणी छ । ओली जबज र मदन भण्डारीको विरुद्ध खुल्ला रुपमा आइसकेको उनको दाबी छ । ‘ओलीको अराजनीति हाबी भयो । यो राजनीति होइन, यो अराजनीति हो । उहाँ अध्यक्ष बन्ने निश्चित भयो । तर, त्यो जित चाहिँ हिटलरले पनि जितेको थियो । तर, अन्तिममा आत्महत्या गरेर मर्नु परेको थियो । ओलीको अहिले हिटलरी शासन छ । यो स्टालिन प्रवृत्ति छ । पार्टी कब्जा गर्ने कुरामा उनी लागेका छन्,’– उनले भने ।
मतको हिसाबले ओलीले ११औं महाधिवेशनमा अध्यक्ष जिते पनि नैतिक र सैद्धान्तिक रुपमा भने हार भइसकेको उनले बताए । अहिले ओली कुनै जिल्लामा गएर उभिन सक्ने अवस्था नरहेको, जनतामा आक्रोश रहेको र ओलीले देशलाई नै घात गर्नेखालको सम्भावना रहेको उनको भनाइ छ । ओलीले गलत लाइन लिएको उनको दाबी छ । खुट्टा तान्ने, धाँधली, षड्यन्त्र गर्ने, विद्या भण्डारीको पार्टी सदस्यता खोजेकोलगायत कुरा स्मरण गराउँदै उनले यसको विरुद्धमा बोल्नुपर्ने बताए ।
गत भदौ २३ गतेको जेन–जी आन्दोलनको क्रममा भएको दमनको सन्दर्भमा ओलीले कम्तिमा माफी माग्नुपर्ने उनको भनाइ छ । उनले ओलीलाई श्री ६ को संज्ञा दिँदै कठघरामा उभ्याउनु आजको आवश्यकता रहेको बताए । ‘यिनलाई कठघरामा उभ्याउनै पर्छ । भोलि आउने प्रधानमन्त्रीले पनि यस्तैखालको रबैया गरे भने के हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया