महाधिवेशन हलमा ओलीले सुनाए ‘बुढो बाबु फाल्ने डोको’ को कथा…


काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अ‍ोलीले महाधिवेशन हलमा ‘बुढो बाबु फाल्ने डोको’ को कथा सुनाएका छन् । एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतका अनुसार ओलीले सर्वसम्मतिका लागि प्रयास गर्दै उक्त कथा सुनाएका हुन् । यद्यपि सहमतिको वातावरण भने नबनेको नेता बस्नेतले बताए ।

नेता बस्नेतका अनुसार ओलीले महाधिवेशन हलमा आजको आवश्यकता मिलेर जानु रहेको, विदेशी शक्तिहरु हाबी भइरहको र मुलुक ठूलो ध्वंसको परिणामबाट जुज्रिरहेको अवस्थामा विदेशी शक्तिहरुको पक्षपोषण गर्ने र पार्टीका नेताहरुको विरोध गर्ने काम ठीक नहुने बताएका थिए ।

‘उहाँले एउटा पुराने युक्ति पनि भन्नुभएको छ । हजुरबालाई बाले डोकामा हालेर फाल्न खोज्दा नातीले हजुरबालाई चाहिँ फाल्नु, डोको चाहिँ ल्याउनु भनेछन् । किन भन्दा, तपाईँलाई पनि त भोलि फाल्न्पर्छ नि त भन्ने कुराको उदाहरण दिँदै अध्यक्षलाई हटाएर सर्वसम्मति हुन्छ भन्ने कुरा गलत मान्यता हो । अध्यक्षलाई स्वीकार गरेर जाने हो भने बरु वरिष्ठ उपाध्यक्ष राख्ने वा उपाध्यक्षमै ठाउँ राख्ने वा के गर्ने हामी सल्लाह गर्न तयार छौं भनेर उहाँ (ओली) ले कुरा गर्नुभयो । त्यसो हुँदा पनि उहाँहरुले मानेको स्थिति बनेन,’– सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै नेता बस्नेतले भने ।

नेता बस्नेतका अनुसार पार्टी अध्यक्ष ओलीले टीम प्रस्ताव गरिसकेका छन् । एमालेभित्रको आम कार्यकर्ताको धारणा ओली पुनः अध्यक्षमा दोहोरिनुपर्ने रहेको नेता बस्नेतले बताए । ‘केपी शर्मा ओलीलाई नै नेतृत्वको रुपमा स्थापित गर्नुपर्छ भन्ने आम कार्यकर्ताहरुको भावना हो । अहिले प्रतिनिधिको रुपमा चुनिएर आएका ८० प्रतिशतभन्दा बढी साथीहरु केपी शर्मा ओलीको पक्षमा छन् । हामी सबैको भावना केपी ओलीलाई अध्यक्ष बनाउँ भन्ने हो,’– उनले भने ।