काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अहिलेको आवश्यकता निर्वाचन रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मुलुकले ताजा जनादेश चाहेको बताउँदै अहिले संसद् पुनर्स्थापनालाई वैकल्पिक कुराको रुपमा मात्रै लिन सकिने र त्यो विषय अहिलेको लागि तपशीलको विषय मान्न सकिने बताए ।
‘संसद् पुनर्स्थापनाको विषय भनेको वैकल्पिक कुरा हो । न्यायलयले हेरिराखेको छ । मुल विषय भनेको निर्वाचन हो । मुलुकले ताजा जनादेश चाहेको छ । भदौ २३ र २४ गतेको आन्दोलनको भावना पनि त्यही हो । ताजा जनादेश नचाहिने भए किन संसद् विघटन गरेको ? संसद्बाटै हामीले सरकार बनाउनुपर्थ्यो नि त ?’ प्रश्न गर्दै उनले भने ।
अन्तरिम सरकारको मूल उद्देश्य नै संसदीय निर्वाचन रहेको उनको दाबी छ । मुलुक निर्वाचनको कोर्शमा अगाडि बढिसकेको उनले बताए । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको पछि मुलुकको संविधान मुर्छित र बेहोसी अवस्थामा रहेको टिप्पणीस् गर्दै उनले यो सरकार बन्नुको मूल उद्देश्य नै निर्वाचन रहेको र ताजा जनादेशमा जानुको विकल्प नरहेको बताए । उनले भने, ‘संविधान पनि मुर्छित हुँदैन थियो । संविधान त अहिले बेहोसीमा छ, होसमा छैन संविधान । संविधानलाई पन्छाएर हामीले विशेष परिस्थितिको लागि अन्तरिम सरकार बनायौं ।’
उनले अहिले पहिलो प्राथमिकता संसद् पुनर्स्थापना हुनै नसक्ने बताए । यद्यपि यस विषयमा सर्वोच्च अदालतमा रिट परेको र अदालतले दिने निर्णय भने सुरक्षित रहेको उनको भनाइ छ । अहिले सबै राजनीतिक दलले निर्वाचनतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने उनले बताए ।




प्रतिक्रिया