गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन


गण्डकी, २९ मङ्सिर । गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत वैशाख १५ गते सकिएको थियो

। कुलपतिसहित सबै प्राज्ञसभा सदस्यहरूको नियुक्तीका लागि गत वैशाख २७ गते गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेकामा अहिलेसम्म नियुक्ती हुन नसकेको हो ।

प्रतिष्ठानका निवर्तमान सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानमा रहेका २४ वटै पद अहिले रिक्त रहेको बताए । “कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको आवेदन परेको छ, तर मन्त्रालयले अहिलेसम्म नियुक्तीको प्रकृया अगाडि बढाएको छैन”, उनले भने, “प्रतिष्ठान नेतृत्वविहीन हुँदा योजना र कार्यक्रम कार्यान्वयन प्रभावित भइरहेको छ ।”

सिङ्गो प्रदेशको भाषा, कला, संस्कृति आदिको उत्थानमा क्रियाशील हुनुपर्ने संस्था लामो समयसम्म नेतृत्वविहीन हुुनु दुःखद् रहेको उनको भनाइ छ । सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अब छिट्टै नियुक्तीको प्रकृया सुरु हुने बताए । “कुलपतिसहित सबै पदमा दरखास्त परिसकेको छ, विविध कारणले नियुक्तीमा ढिलाइ भएको हो, अबको एकदुई हप्तामा नियुक्तीको प्रकृया टुङ्गिन्छ”, उनले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी ऐनमा कुलपतिका लागि शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । उपकुलपति र सदस्यसचिवका लागि स्नातक र सदस्यहरूका लागि कक्षा १२ वा सो सरह उत्र्तीण हुनुपर्ने व्यवस्था छ । प्रतिष्ठानमा नियुक्त हुने व्यक्ति ३५ वर्ष पूरा भई भाषा, साहित्य, कला र संस्कृति सम्बन्धी क्षेत्रमा सिर्जना, अध्ययन तथा अनुसन्धान गरी सम्बन्धित विषयमा ख्याती आर्जन गरेको हुनुपर्ने प्रावधान ऐनमा छ । रासस