एमाले सचिव अर्याल भन्छिन्: ‘लेखेर राख्नुस्- फागुन २१ गते निर्वाचन हुँदैन’


काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) की सचिव एवं पूर्व मन्त्री पद्मा अर्यालले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन गराउन नसक्ने ठोकुवा गरेकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले. निर्धारित मितिमा चुनाव गराउन नसक्ने र त्यसैको निहुँमा अरु केही गर्न खोजिएको दाबी गरेकी हुन् । उनले जेन–जी र सरकारबीच भएको १० बुँदे सम्झौताले नै यो सरकार चुनावको पक्षमा छैन भन्ने कुरा पुष्टि गर्ने बताईन् । त्यस्ता गम्भीर कुरामा सम्झौता गर्न यो सरकारको हैसियत नै नपुग्ने उनको टिप्पणी छ । सरकारले संविधानलाई सिरानी हालेर संविधानविरोधी काम गरिरहेको उनको टिप्पणी छ ।

‘लेखेर राख्नुस्, फागुन २१ गते चुनाव हुँदैन । निर्वाचन गर्न सक्नुहुन्न । नसकेपछि त्यही निहुँ बनाएर मुलुकमा अरु केही गर्न खोजिँदै छ । चुनावका निम्ति गठन भएको सरकार अस्तिका १० वटा बुँदा उपयुक्त हो त ? जेन–जीको माग पूरा गर्न कसरी यो सरकारले संविधान संशोधन गर्न सक्छ ? त्यस्ता गम्भीर–गम्भीर विषयहरु राखेर, जसको हैसियत नै छैन । संविधान संशोधन गर्ने प्रावधान छैनन् ? चुनावी सरकारले संविधान संशोधन गर्न सक्दैन । संविधानलाई सिरानी हालेर संविधान विरोधी काम गर्न पाइन्छ ?’ प्रश्न गर्दै उनले भनिन् ।

साथै, उनले आजको आवश्यकता संसद् पुनर्स्थापना रहेको दाबी गरिन् । यदि यो सरकारले भयरहित र शान्तिपूर्ण चुनाव गराएको खण्डमा आफूहरु भाग लिन तयार रहेको बताईन् । एमाले लोकतान्त्रिक पार्टी रहेकाले आफूहरु चुनावदेखि नडराउने बताईन् । सल्लाघारीमा भएको एमालेको ११औं महाधिवेशनको उद्घाटन सत्रमा २ लाख मान्छेहरु आएको उनको दाबी छ ।