ज्ञवालीले ओली प्यानलबाट उपाध्यक्ष अस्वीकार गरे, केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी


काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । उपाध्यक्ष पद अस्वीकार गरेका ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन् ।

उपमहासचिव ज्ञवालीले ओली प्यानलबाट महासचिवको अपेक्षा गरेका थिए । ओलीले ज्ञवालीलाई उपाध्यक्षमा प्रस्ताव गरेपछि उनी केन्द्रीय सदस्यमामात्रै मनोनयन दर्ता गरेर महाधिवेशन स्थलबाट बाहिरिएका छन् ।

ओली प्यानलबाट शंकर पोखरेल महासचिवको उम्मेदवार बनेका छन् । पोखरेलले यसअघि पनि एक कार्यकाल महासचिवको भूमिका निर्वाह गरिसकेका छन् । उपमहासचिव ज्ञवालीले महासचिवबाहेक अन्य कुनै पनि पदमा उम्मेदवारी नदिने अड्डी कसेपछि नेताहरुको व्यवस्थापनमा ओलीलाई अप्ठ्यारो अवस्था सिर्जना भएको हो ।