धमाधम शीर्ष नेताहरुले साथ छाड्न थालेपछि संकटमा ओली


काठमाडौं, २९ मंसिर । महाधिवेशनमा आफूले आकांक्षा राखेको पदमा उम्मेदवारी दिन नपाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएका नेताहरुले गुट परिवर्तन गर्ने संकेत देखाएका छन् । यसअघि ओलीको पक्षमा वकालत गर्दै आएका कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, रघुजी पन्त, राजेन्द्र गौतम, प्रदीप ज्ञवालीलगायतका नेताहरुले गुट परिवर्तन गर्ने संकेत देखाएका छन् ।

पार्टीको १०औं महाधिवेशनका उपमहासचिव बनेका ज्ञवालीले यसपटक महासचिवमा प्रतिस्पर्धा गर्न चाहेका थिए । ज्ञवालीलाई अध्यक्ष ओलीले उपाध्यक्षको उम्मेदवार बनाउन खोजेपछि उनले पदाधिकारीको कुनै पनि पदमा उम्मेदवारी नदिई फर्किएका छन् । स्रोतका अनुसार ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै मनोनयन दर्ता गराएका छन् । ज्ञवाली अ‍ोलीका विश्वासपात्र मानिदैआएका थिए ।

त्यस्तै, यसअघि आफ्नै क्याविनेटमा शिक्षामन्त्री बनेका पन्तले पनि ओलीको साथ छाड्ने तरखर गरेको चर्चा सुरु भएको छ । पदाधिकारीमा ओलीले नसमेटेपछि पन्तले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष उठ्ने तरखर गरेको स्रोतको दाबी छ ।

त्यसैगरी ओलीको प्यानलबाट सचिव उम्मेदवारका आकांक्षी रहेका गौतमले पनि स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, ओलीलाई फुटबलको प्लेसँग तुलना गरेर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले पनि साथ छाड्न लागेका छन् । श्रेष्ठले अध्यक्षका अर्को उम्मेदवार पोखरेलको समूहबाट उचिवमा उम्मेदवारी दिएको बताइएको छ ।

त्यस्तै, यसअघि ओलीका विश्वास पात्र मानिएका गोकूल बास्कोटा पनि चिढिएका छन् । यद्यपि बास्कोटाले केही समयअघिबाटै ओलीको साथ छाडेको संकेत गरेका थिए । बास्कोटाले केही समय पहिलादेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्दै आएका थिए । बास्कोटाले पोखरेल समूहबाट सचिवमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसैगरी ओलीको क्याम्पमा राजनीति गर्दै आएको अग्नि खरेल, भीम आचार्यलगायतले पनि साथ छाड्ने संकेत गरेका छन् । यसरी धमाधम शीर्ष नेताहरुले साथ छाड्न थालेपछि ओली थप संकटमा परेका छन् । गत मंसिर २७ गतेबाट सुरु भएको एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भोलि (पुस १ गते) निर्वाचन हुने कार्यतालिका रहेको छ । यसरी शीर्ष नेताहरुले साथ छाड्नुले ओलीमाथि थप राजनीतिक संकट सुरु भएको आँकलन गरिएको छ ।